सोमबारदेखि लोडसेडिङ १ घण्टा घट्ने
By karobardaily - Sun Feb 12, 12:10 pm
- 0 Comments
- 562 views
- Tweet
Email
Print
काठमाडौं, २८ माघ (कास) ः विद्युत् प्राधिकरणले सोमबारदेखि लोडसेडिङ दैनिक १ घण्टा घटाउने भएको छ । दैनिक साढे १२ घटाका दरले हुँदै आएको लोडसेडिङ अब साढे ११ घण्टामा सीमित हुनेछ । नयाँ तालिकाअनुसार सातामा ८१ घण्टा बत्ती हुनेछैन ।
मध्यमस्र्याङ्दी जलविद्युत्गृह निर्धारित समयभन्दा एक साताअघि मर्मत भई विद्युत्् उत्पादन सुरु हुनुका साथै वर्षादले कुलेखानी जलाशयको सतह बढेकाले तत्कालका लागि लोडसेडिङ घटाउन लागिएको प्राधिकरणका उच्च अधिकारीले बताए । उनका अनुसार कुलेखानीको जलाशय ९ सेन्टिमिटर बढेको छ ।
मध्यमस्र्याङदी शनिबारदेखि सञ्चालनमा आएको छ । यसबाट अहिले ३६ मेगावाट बिजुली उत्पादन भइरहेको छ । कुलेखानीमा पानीको सतह हालसम्म ५ मिटरमात्र घटेर १ हजार ५ सय २५ मिटर छ । कुलेखानीबाट दैनिक ४५ मेगावाट बिजुली उत्पादन भइरहेको छ ।
दैनिक बिजुलीको माग १ करोड ५० लाख युनिट तथा आपूर्ति ९० लाख युनिट छ । दिन लामो र रात छोटो हुँदै गएपछि बिजुली खपतमा कमी आएको ती अधिकारीले बताए । प्राधिकरणले यो वर्ष बिजुलीको माग बढेर १ करोड ५५ लाख युनिटसम्म पुग्ने प्रक्षेपण गरे पनि १ करोड ५१ लाख युनिटसम्म पुगेकाले अब लोडसेडिङ नबढ्ने उनको दाबी छ । प्राधिकरणले वैकल्पिक उपाय अवलम्बन नगर्ने हो भने दैनिक १९ घण्टासम्म लोडसेडिङ हुने प्रक्षेपण गरेको थियो ।
