01:44 am - Friday 18 May 2012
Today's epaper

बीबी एयरवेज भदौ अन्तिम सातादेखि

By karobardaily - Sun Feb 12, 12:11 pm

काठमाडौं, २८ माघ
अन्तर्राष्ट्रिय उडान अनुमति पाएको बीबी (भगवान बुद्ध) एयरवेज प्रालिले आठ महिनापछि उडान सञ्चालन गर्ने भएको छ । कम्पनीले भदौ २८ (सेप्टेम्बर १३) बाट उडान सुरु गर्ने लक्ष्य लिएको जानकारी प्रधानमन्त्री बाबुराम भट्टराईलाई गराएको छ ।
शनिबार प्रधानमन्त्रीलाई भेटेर बीबी एयरवेज प्रालिका अध्यक्ष भवन भट्टले आफ्नो कार्ययोजनाअनुसार भदौ २८ मा पहिलो उडान भर्ने लक्ष्य रहेको जानकारी गराए । एयरलाइन्सले पुस ९ गते मन्त्रीस्तरीय निर्णयबाट अन्तर्राष्ट्रिय उडानका लागि अनुमतिपत्र प्राप्त गरेको हो ।
प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा अध्यक्ष भट्टले बीबी एयरवेज सकेसम्म चाँडो नेपालबाट अन्तर्राष्ट्रिय आकाशमा उडान भर्न इच्छुक रहेको बताएका थिए । सरकारका तर्फबाट हालसम्म पाइरहेको सहयोगप्रति आभार व्यक्त गर्दै उनले आउँदा दिनमा पनि सरकारीस्तरबाट निरन्तर सहयोग प्राप्त भइरहने अपेक्षा गरेको कम्पनीले जनाएको छ ।
प्रधानमन्त्री भट्टराईले नेपालको आफ्नै वायुसेवा कम्पनी प्रभावकारी हुन नसक्दा बर्सेनि अर्बौं रकम बाहिरिएको तथ्यप्रति आफू गम्भीर भएको उल्लेख गर्दै गैरआवासीय नेपालीको लगानी रहेको निजी वायुसेवा यथाशीघ्र सञ्चालनमा आउने विश्वास व्यक्त गरेका छन् ।
“तपाईंहरू आफ्नो तयारी पूरा गर्नुस्, म सरकारको तर्फबाट कुनै बाधा अड्चन उत्पन्न हुन दिनेछैन,” प्रधानमन्त्रीले भने । उनले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको अवस्था गम्भीर रहेकाले निजी क्षेत्रबाट स्वदेशी कम्पनीको सुरुवात स्वागतयोग्य भएको पनि बताए ।
बीबीले काठमाडौंबाट नयाँ दिल्ली, बैंकक, क्वालालम्पुर, हङकङ, टोकियो, दोहा र सिंगापुरमा उडान भर्ने अनुमति पाएको छ । स्वीकृति पत्रमा तीनवटा बोइङ ७६७–३०० जहाजद्वारा उडान भर्न पाउने तथा तीमध्ये दुई वटा जहाज पहिलो चरणमा र बाँकी जहाज तीन वर्षभित्र आवश्यक प्रक्रिया मिलाई खरिद गर्नुपर्ने उल्लेख छ ।
अध्यक्ष भट्टसँगै प्रमुख कार्यकारी अधिकृत शिशिर भट्ट, प्रमुख सञ्चालन अधिकृत हरिभक्त श्रेष्ठ, वित्तीय सल्लाहकार सुधीर शर्मा पौडेलले एयरवेजका विविध विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएको कम्पनीले जनाएको छ ।

Leave a Reply