नेपाल–भुटान व्यापार वार्तामा ढिलाइ
By karobardaily - Sun Feb 12, 12:06 pm
- 0 Comments
- 170 views
- Tweet
Email
Print
कारोबार संवाददाता
काठमाडौं, २८ माघ
नेपाल र भुटानबीच औपचारिक व्यापार वार्तामा ढिलाइ हुँदा दुई मुलुकबीचको द्विपक्षीय सम्झौताको प्रक्रिया अघि बढ्न सकेको छैन ।
दुई वर्षअघि भुटान नेपाली उत्पादनका लागि सम्भावित बजार हुनसक्ने भएकाले औपचारिक सम्झौता गर्न काठमाडौंमा पहिलो चरणको वार्ता भएको थियो, तर वार्ताले निरन्तरता पाउन नसक्दा सम्झौता प्रक्रिया रोकिँदै आएको छ ।
नेपालबाट भुटानमा चाउचाउ, बियर, बिस्कुट, साबुन, फलफूल, वायरलगायतका वस्तुहरू राम्रो परिमाणमा निर्यात हुने गरेको छ । यसअघि काठमाडौं वार्तामा नेपालले भुटान निर्यात हुने विभिन्न वस्तुमा सहुलियतपूर्ण भन्सार सुविधा माग गरेकामा भुटानले सकारात्मक जवाफ दिँदै अर्को बैठकमा वस्तुको सूचीमाथि छलफल गर्ने जनाएको थियो ।
भुटानमा नेपाली चाउचाउको विशेष माग छ । चर्को भन्सार शुल्कका साथै अतिरिक्त बिक्री करले हाल भुटानमा नेपाली सामानले प्रतिस्पर्धा गर्न नसकी रहेको मन्त्रालयले जानकारी दिएको छ । भुटानले दोस्रो चरणको वार्तामा एक अर्को मुलुकमा निकासी गर्ने वस्तुहरूको सूची तथा व्यापार मार्गका विषयमा छलफल गर्न नेपाललाई गएको सेप्टेम्बरमा प्रस्ताव गरे पनि भुटानी पक्षले तत्कालका लागि बैठक स्थगित गरेको थियो ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयले सन् २००४ मा नेपालबाट निकासी हुने वस्तुको भुटानमा सहुलियतपूर्ण बजारबाट फाइदा लिन सक्ने देखेर भुटानसँग द्विपक्षीय सम्झौताको प्रस्ताव गरेको थियो । सन् २००८ मा भुटान सो प्रस्तावलाई अघि बढाउन सहमत भएपछि सो सम्झौतासम्बन्धी मस्यौदा दुवै देशबीच आदान–प्रदान भएको हो । नेपालले सिमेन्ट उत्पादनका लागि आवश्यक कच्चा पदार्थ, कोइलाजस्ता सामानको भुटानबाट आयात गर्दै आएको छ ।
पछिल्लो समयमा भुटानले दक्षिण एसियामानै तीब रूपमा आर्थिक क्रियाकलापहरू विस्तार गरिरहेको छ । सन् २००२ को तुलनामा भुटानको अन्तर्राष्ट्रिय व्यापार ५ गुणा वृद्धि भएको छ । हाल नेपालले भुटानसँग व्यापार गर्न रक्सौल, काँकडभित्ता र पानीट्यांकी नाका प्रयोग गरिरहेको छ ।
