01:42 am - Friday 18 May 2012
Today's epaper

दुई हजार बढी करदाताको अनुगमन

By karobardaily - Sun Feb 12, 12:05 pm

काठमाडौं, २८ माघ

आन्तरिक राजस्व विभागले दुई दिनमा २ हजार १ सय करदाताको अनुगमन गरी एक सय करदातालाई जरिवाना गरेको छ । नियमअनुसार हिसाब–किताब नराख्ने र कानुनको पालना नगर्ने करदातालाई अनुगमन स्थलमै जरिवाना गरिएको विभागले जनाएको छ ।
आय कर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कमा दर्ता हुनुपर्ने करदातालाई दर्ता गर्न आदेश दिनुका साथै बिलबिजक जारी नगरी कारोबार गर्ने करदाताको खातावही विभागले छानबिनका लागि नियन्त्रणमा लिएको विभागले जनाएको छ ।
विभागले १ सय जना कर अधिकृतको नेतृत्वमा देशभर ३ सय ५० जना कर्मचारीलाई गत बिहीबार र शुक्रबार अनुगमनमा खटाएको थियो ।
काठमाडौं उपत्यकामा ६० र उपत्यका बाहिरका सहरमा ४० टोली खटाइएको थियो । टोलीमा कम्तीमा ३ जना कर्मचारी परिचालन गरिएको विभागले जनाएको छ ।
विभागका महानिर्देशक टंकमणि शर्माका अनुसार टोलीलाई कानुनविपरीत काम गरेको पाइएमा तत्काल जरिवाना गर्ने विशेष अधिकार दिइएको छ । अनुगमन टोलीले आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, शिक्षा सेवा शुल्क, स्वास्थ्य सेवा कर तथा घर बहाल कर सम्बन्धमा करदाताहरुको कारोबारस्थलको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा कानुनविपरीत कारोबार गरेको पाइएका करदाताको थप अनुसन्धान गरिने शर्माले बताए । टोलीले कर असुली तथा राजस्व दाखिलासम्बन्धी खातावहीलगायत अन्य सूचना र कागजातहरुसमेत कारोबारस्थलमै परीक्षण गरेको थियो । यो अभियान प्रत्येक साता सञ्चालन गर्ने विभागले जनाएको छ । माघ महिनामा दुई साताको एकै पटक दुई दिन लगातार अनुगमन गरिएको थियो । फागुनदेखि प्रत्येक साता बजारमा टोली परिचालन हुन्छ । विभागले असार मसान्तसम्म २५ हजार करदाताको अनुगमन गर्ने लक्ष्य लिएको छ ।
अर्को महिनादेखि क्षेत्रगत रूपमा टोली परिचालन गरिने महानिर्देशक शर्माले जानकारी दिए । “भ्याट, अन्तःशुल्क, आय कर र शिक्षा सेवा सुल्कका लागि निश्चित दिन तोकेर अनुसन्धान गरिनेछ,” शर्माले भने ।

घरबहाल करमा विशेष अनुसन्धान गरिँदै
फागुन महिनामा विभागले घर बहाल करमा अनुसन्धानका लागि विशेष टोली परिचालन गर्ने भएको छ । बहाल करलाई मात्रै केन्द्रित गरी टोली परिचालन गर्न लागिएको महानिर्देशक शर्माले जानकारी दिए ।
“नियमित टोलीबाहेक घरबहालका लागि फरक टोली परिचालन गरिनेछ,” उनले भने ।
चालु आर्थिक वर्षमा सरकारले घर बहालतर्फ एक अर्ब ३५ करोड रुपैयाँ कर असुल गर्ने लक्ष्य लिएको छ । पुस मसान्तसम्म ७७ करोड रुपैयाँ घरबहाल कर असुल भएको छ । यो आर्थिक वर्षमा थप २५ हजार करदातालाई बहाल करको दायरामा ल्याउने लक्ष्य लिएको शर्माले बताए ।

Leave a Reply