01:41 am - Friday 18 May 2012
Today's epaper

कोष नयाँ ढंगले अगाडि बढ्ने

By karobardaily - Sun Feb 12, 12:00 pm

गरिबी निवारण अभियान

कारोबार संवाददाता
काठमाडौं, २८ माघ
गरिबी निवारण कोषले गरिबीविरुद्ध नयाँ ढंगले अभियान सुरु गर्ने भएको छ । ‘च्याम्पियन’हरूको समूह गठन गर्ने निर्णय गर्दै कोषले यस्तो पहल थालेको हो ।
कोषले गठन गर्ने समूहमा पूर्व निजामती कर्मचारी, विकास योजनाविद्, अर्थशास्त्री, प्राज्ञिक व्यक्तित्वहरू, समाजशास्त्री, नागरिक समाजका अगुवा र अन्य विशिष्ट व्याक्ति रहनेछन् । कोषले ‘च्याम्पियन’को समूह गठनसँगै कामको जिम्मेवारी एवं प्रकृतिलाई छिट्टै अन्तिम रूप दिने उपाध्यक्ष जनकराज जोशीद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । ‘च्याम्पियन’हरूको समूहले कोषले गरेका कामको प्रभावकारिता मूल्यांकन गर्दै प्रतिक्रिया दिनेछ ।
विभिन्न विज्ञ र साझेदार पक्षबीच शुक्रबार कोषले आयोजना गरेको अन्तक्र्रियामा गरिबी निवारणविरुद्ध लड्ने राष्ट्रिय संरचना खडा गर्ने तथा संस्थादेखि नीतिगत तहसम्म रहेका कमजोरीलाई औंल्याइएको छ । कोषका अनुसार अति गरिबलाई सम्बोधन गर्ने उद्देश्यले ‘च्याम्पियन’हरू को समूह गठन गर्न लागिएको हो । “अबका दिनमा रणनीतिक रूपमा गरिबलाई सम्बोधन गर्नुपर्छ,” विज्ञप्तिमार्फत भनिएको छ ।
कोषलाई उपलब्ध रकमको बाँडफाँड गर्ने निकायबाट गरिबी निवारणमा काम गर्ने एउटा बृहत्तर निकायका रूपमा अगाडि बढाउन यस्तो कदम चालेको उपाध्यक्ष जोशीले बताए । उनका अनुसार कोषले गर्दै आएका राम्रा कामले भने निरन्तरता पाउनेछन् । कोष एउटा कार्यक्रममात्र नभएर विकास नमुनाको अवधारणालाई व्यवहारमा उतार्दै तल्लो तहसम्म परिणाम पु¥याउन काम गर्ने संरचना भएको जोशीले बताएका छन् ।
छलफलमा सहभागी राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. पुष्कर बज्राचार्यले कृषि, जनजीविका, साना उद्योग, पूर्वाधार र मानव विकासमा लगानी गरेमात्र गरिबी निवारणमा सहयोग पुग्ने बताएका छन् । त्यस्तै, अर्का विकास विज्ञ डा. बिना प्रधानले गरिबी निवारणमा प्रभावकारी रूपले काम गर्न कोष कुनै पनि खालको राजनीति र कर्मचारीतन्त्रबाट बाहिर निस्कनुपर्ने बताएका छन् ।
कोषले अहिलेसम्म मुलुकभरका ४० प्रतिशत गाविसमा १७ हजार ५ सय ३७ वटा सामुदायिक संगठन खोलेको छ । कोषका कामबाट प्रतिव्याक्ति खपतमा ४९ प्रतिशतले वृद्धि गरेको र १० प्रतिशत खाद्यान्न असुरक्षालाई कम गरेको तथ्य अगाडि सार्दै विश्व बैंकसम्बद्ध अर्थशास्त्री डा. गायत्री आर्चायले भनिन्, “कोषले गरिबलाई उपलब्ध गराएको सानो स्रोतले पनि धेरै परिणाम हात पार्न सफल भएको छ ।”

Leave a Reply