01:37 am - Friday 18 May 2012
Today's epaper

उपत्यकाभित्र औषधि पसल प्रहरी निगरानीमा

By karobardaily - Sun Feb 12, 12:09 pm

मातृका दाहाल
काठमाडौं, २८ माघ

राजधानीका औषधि पसलबाट लागूऔषध कारोबार हुन थालेपछि त्यस्ता ठाउँमा प्रहरीले निगरानी बढाएको छ । संगठित गिरोहसँग मिलेर सञ्चालकले लागूऔषध कारोबार गर्ने गरेको सूचना पाएपछि प्रहरीले उपत्यकाका औषधि पसलमा निगरानी बढाएको हो ।
माघ १९ गते अर्घाखाँचीका मदनप्रसाद भट्टराई, धापासीका पुष्पलाल श्रेष्ठ र नीरज थापा कपूरधारास्थित मेडिकल हलबाट पक्राउ परेपछि प्रहरीले औषधि पसलमा निगरानी बढाएको जनाएको छ । खासगरी, सरकारी तथा निजी अस्पताल आसपासका औषधि पसलबाट लागूऔषध बिक्रीवितरण हुने गरेको प्रहरीको दाबी छ ।
“स्वास्थ्य सेवा उपलब्ध गराउने बहानामा अस्पताल आसपासका औषधि पसलबाट लागूऔषधको कारोबार हुने गरेको सूचना पाएका छौं,” लागूऔषध नियन्त्रण कानुन कार्यान्वयन एकाइका एसएसपी नवराज सिलवालले कारोबारसँग भने, “थप पसलको पहिचान गरी त्यस्ता गैरकानुनी गतिविधि नियन्त्रण गर्न हामीले सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गरेका छौं ।”
एसएसपी सिलवालका अनुसार लागूऔषधको बिक्रीवितरण गर्ने केही औषधि पसलको पहिचान भइसकेको छ । “लामो अनुसन्धानपछि हामीले लागूऔषधको कारोबारमा संलग्न केही औषधि पसलको पहिचान गरिसकेका छौं,” सिलवालले भने, “सरकार, औषधि व्यवसायी र अन्य सरोकारवाला निकायका प्रतिनिधि राखेर हामी ती औषधि पसलको नाम सार्वजनिक गर्छौं ।”
प्रहरीका अनुसार लागूऔषधको कुलतमा फसेका १५ देखि ४० वर्षसम्मका युवायुवती औषधि पसलका ग्राहक छन् । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार लागूऔषधको कुलतमा फसेका युवायुवतीले महँगो शुल्क तिरेर सिरिन्ज, क्याप्सुललगायत प्रतिबन्धित लागूऔषध खरिद गर्ने गरेका छन् ।
“त्यस्ता औषधि पसल बिहान, साँझ र रातको समयमा बाहेक अन्य बेला खुल्दैनन्,” प्रहरीका ती अधिकारी भन्छन् ।
बु्रपिनर्फिन र डाइजेपाम सिरिन्जबाट प्रयोग गरिन्छ । यसको मूल्य प्रतिवटा २ सयदेखि ६ सय रुपैयाँसम्म पर्छ । सेतो÷खैरो हेरोइन, चरेस र गाँजा भने चुरोट÷सुर्तीजसरी सेवन गर्ने गरेको प्रहरीको भनाइ छ ।
उपत्यकामा ३ हजारको हाराहारीमा औषधि पसल सञ्चालनमा छन् ।

Leave a Reply