प्रधानमन्त्रीको राजीनामा माग
By karobardaily - Fri Feb 10, 11:22 am
- 0 Comments
- 253 views
- Tweet
Email
Print
सरकारी निर्णयको माओवादीभित्रैबाट विरोध
मधुसूदन भट्टराई
काठमाडौं, २६ माघ
सशस्त्र द्वन्द्वकालमा जनसत्ताले गरेको जग्गासम्बन्धी कामलाई वैधानिकता दिने सरकारको निर्णय फिर्ता लिएकोमा आपत्ति जनाउँदै एकीकृत नेकपा माओवादीको उपाध्यक्ष मोहन वैद्य समूहले प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजीनामा मागेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास लाजिम्पाटमा बसेको स्थायी समितिको बैठकमा मन्त्रिपरिषद् बैठकले जनसत्ताले गरेका घरजग्गा कारोबारको निर्णयलाई दिएको मान्यता फिर्ता लिएपछि वैद्य समूहले प्रधानमन्त्रीको राजीनामा मागेको हो ।
सचिव सीपी गजुरेलले सरकारले जनसत्ताको निर्णयलाई मान्यता दिने निर्णय कायम रहनुपर्ने पार्टी निर्णयविपरीत निर्णय गरेकाले फिर्ता बोलाइएको बताए । “हामी जनसत्ताका कामलाई मान्यता दिने सरकारको निर्णय कायम हुनुपर्ने निर्णयमा अडिग थियौं तर क्याबिनेटले उक्त निर्णय कार्यान्वयन नगर्ने भनेको छ, बैठकपछि वैद्यपक्षीय सचिव गजुरेलले भने, “यसको मर्म भनेको फिर्ता गर्ने नै भन्ने छ, यो निर्णय पार्टी निर्णयविपरीत छ ।”
आफूहरूले सरकार निर्माण भएपछि निरन्तर रूपमा पार्टी निर्णयविपरीत अगाडि बढेकाले फिर्ता बोलाउन गरेको माग बिहीबारको बैठकमा पनि दोहो¥याएको सचिव गजुरेलको भनाइ छ ।
संस्थापन पक्षले सरकारबाट फिर्ता हुनुपर्ने निर्णयमा असहमति जनाएपछि बैठक टुंगोमा पुग्न भने सकेन । “हामीहरू सरकारबाट फिर्ता बोलाउनुपर्छ भन्यौं, संस्थापन फिर्ता बोलाउन नहुने पक्षमा रह्यो,” गजुरेलले भने, “यस विषयमा शुक्रबार बसेर टुंगो लगाउने गरी बैठक सकिएको छ ।” शुक्रबार बिहान माओवादी स्थायी समितिको बैठक बोलाइएको छ ।
जनसत्ताले गरेको निर्णयलाई मान्यता दिने सरकारी निर्णय फिर्ताको माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेस र एमालेले व्यवस्थापिका संसद् बैठक लगातार आठपटक अवरुद्ध गरेपछि बुधबार गोकर्ण रिसोर्टमा बसेको प्रमुख तीन दलको बैठकमा प्रधानमन्त्रीले सो निर्णय फिर्ता लिने प्रतिबद्धता जनाएका थिए । प्रमुख सत्ता साझेदार दल संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पनि जनसत्ताका निर्णयलाई सरकारले दिएको मान्यताको विपक्षमा थियो । पार्टीभित्रको वैद्य समूहले निर्णयलाई सरकारले गरेको एकमात्र राम्रो निर्णय भन्दै कुनै पनि हालतमा फिर्ता लिन नहुने पक्षमा थियो ।
