01:34 am - Friday 18 May 2012
Today's epaper

पौने करोड जनसंख्यालाई अनुदान दिनुपर्ने

By karobardaily - Fri Feb 10, 11:20 am

तेलमा ३३ प्रतिशत छुट अनुमोदन

कारोबार संवाददाता
काठमाडौं, २६ माघ
सरकारले झन्डै एक करोड जनसंख्यालाई इन्धनमा छुट दिनुपर्ने भएको छ । प्रधानमन्त्री बाबुराम भट्टराई र १३ विद्यार्थी संगठनबीच भएको सम्झौता लागू गर्न संकलन गरिएको विपन्न र विद्यार्थीको प्रारम्भिक तथ्यांक पौने करोड छ ।
विद्यार्थी र विपन्नलाई ग्यास, डिजेल र मटितेलमा ३३ प्रतिशत छुट दिने माघ १९ मा भएको मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि राष्ट्रिय योजना आयोगका सदस्यको संयोजकत्वमा शिक्षा, स्थानीय विकास, अर्थ, उद्योग, गृह र वाणिज्य मन्त्रालयका सहसचिवहरू सम्मिलित ७ सदस्यीय समिति गठन गरिएको छ । समितिले केन्द्रीय तथ्यांक विभाग र शिक्षा मन्त्रालयसँग लिएको प्रारम्भिक तथ्यांकले पौने करोडलाई सहुलियत बाँड्नुपर्ने आँकलन गरिएको छ ।
केन्द्रीय तथ्यांक विभागका अनुसार जनसंख्याको २५ प्रतिशत गरिब छन् भने शिक्षा मन्त्रालयले विश्वविद्यालय र उच्च माध्यमिक शिक्षा परिषद्सँग समन्वय गरी उपलब्ध गराएको सहुलियत दिनुपर्ने विद्यार्थीको संख्या १० लाखभन्दा बढी छ ।
“राहत दिन लक्षित विद्यार्थी पनि विपन्न नै हुन्,” योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले भने, “राहतको दुरुपयोग हुन नदिन सबैभन्दा पहिले संयन्त्र बनाउनुप¥यो ।”
क्षेत्रीले बाँड्ने भन्दा पनि आम्दानी बढाउनुपर्ने बताए । “आम्दानी बढेको छैन, राहत कति दिन बाँड्ने,” उनले भने, “राहत कार्ड लागू भएपछि यसको प्रभावकारी अनुगमन गर्नुपर्छ ।”
प्रधानमन्त्रीले विद्यार्थी संगठनहरूसँग सहमति गरेअनुसार मन्त्रिपरिषद्ले विद्यार्थी र विपन्नलाई ग्यास, डिजेल र मटितेलमा ३३ प्रतिशत छुट दिने निर्णय गरेको थियो ।
व्यवसायीहरूले भने इन्धनमा राहतको निर्णयलाई प्रधानमन्त्रीको ‘राजनीति’को संज्ञा दिएका छन् । “शतप्रतिशत आयात गर्ने वस्तुमा कसरी राहत बाँड्ने ?” नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष सरोज पाण्डेले प्रश्न गरे । यसरी बाँड्ने राहतको दुरुपयोग हुने उनको भनाइ छ ।
यसअघि वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाना पकाउने ग्यासमा सर्वसाधारणलाई सहुलियत दिन औद्योगिक र घरायसी प्रयोजनमा छुट्टाछुट्टै तौलका सिलिन्डर ल्याउने प्रस्ताव अनुमोदनका लागि मन्त्रिपरिषद्मा पठाएको थियो । उक्त प्रस्ताव अनुमोदन भएको छैन ।
बक्स गर्ने
अस्थायी सिलिन्डर प्रयोग गर्ने सवारी साधनलाई कारबाही गरिने
वाणिज्य विभागले ग्यासबाट चल्ने टेम्पो र माइक्रोबसले एलपीजी सिलिन्डरको प्रयोगबाट सवारी चलाउनेलाई कारबाही गर्न महानगरीय ट्राफिक प्रहरीलाई आग्रह गरेको छ । यस्ता सवारी साधन असुरक्षित हुने विभागले जनाएको छ । उपत्यकामा ६ सय ग्यास टेम्पो र सयभन्दा बढी ग्यासबाट चल्ने माइक्रोबस छन् । तीमध्ये अधिकांशले स्थायी सिलिन्डरको सट्टा खाना पकाउन प्रयोग हुने एलपीजी सिलिन्डर प्रयोग गर्ने गरेका छन् ।

Leave a Reply