औषधि खरिदमा ‘अनियमितता’
By karobardaily - Fri Feb 10, 11:13 am
- 0 Comments
- 107 views
- Tweet
Email
Print
अनुप तिवारी
वीरगन्ज, २६ माघ
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साको औषधि खरिद प्रक्रियामा व्यापक भ्रष्टाचार भएको खुलेको छ । सरकारले स्थानीय स्तरमा उपस्वास्थ्य चौकीहरूमार्फत वितरण गर्ने निःशुल्क औषधिहरुको खरिदमा भएको टेन्डरमा कमिसनको भरमा बढी दरमा औषधि खरिद भएको पाइएको हो ।
तीन महिनाअघि औषधि खरिदको टेन्डर प्रक्रियामा कार्यालयलाई कम दरमा औषधि आपूर्ति गर्ने सप्लायरलाई टेन्डर नदिई बढी दरमा आपूर्ति गर्ने सप्लायरलाई टेन्डर दिएर लाखौंको अनियमितता गरेको प्रमाण देखिएको छ । कार्यालयबाट आइरन चक्की, एलबेन्डाजोल, जीवनजल पाउडर र कोट्रिमोक्साजोल औषधि खरिदमा अनियमितता भएको हो । कार्यालयले यी औषधि खरिदको टेन्डर खोल्दा कम दरमा आपूर्तिको कोटेसन भरेको वीरगन्जस्थित जैसवाल फार्मेसीको कोटेसन स्वीकृत नगरी बढी दरको कोटेसन भरेको हेटौंडा सानो पोखरास्थित शाह मेडिकल हलको कोटेसन स्वीकृत गरी जनस्वास्थका कर्मचारीकै मिलोमतो भ्रष्टाचार भएको पाइएको हो ।
प्राप्त प्रमाणका अनुसार शाह मेडिकलले ४ सय एमजीको एलबेन्डाजोल औषधि प्रतिचक्की १२ रुपैयाँ, जीवनजल प्रतिप्याकेट १० रुपैयाँ, आइरन चक्की प्रतिचक्की एक रुपैयाँ ९० पैसा र कोट्रिमोक्साजोल प्रतिचक्की ८० पैसाको दरले जनस्वास्थ्यलाई आपूर्ति गरेको छ । तर, प्रतिस्पर्धी वीरगन्जको जयसवाल फार्मेसीले एलबेन्डाजोल प्रतिचक्की ३ रुपैयाँ ८५ पैसा, जीवनजल प्रतिप्याकेट ९ रुपैयाँ, आइरन चक्की प्रतिचक्की ५५ पैसा र कोट्रिमोक्साजोल प्रतिचक्की ५५ पैसाको दरले कोटेसन भरेको थियो ।
टेन्डर प्रक्रियामा यी लगायत करिब आधा दर्जन सप्लायरले कोटेसन भरेका थिए । अधिकांश सप्लायरले शाह मेडिकलले भन्दा कम दरकै कोटेसन भरेको स्रोतको दाबी छ । जनस्वास्थलाई बढी मूल्यमा औषधि उपलब्ध गराएको हेटौंडास्थित शाह मेडिकल यसअघि पनि जनस्वास्थलाई नै गुणस्तरहीन आइरन चक्की आपूर्ति गरेको आरोपमा कारबाही खेपी कालोसूचीमा अंकितसमेत भइसकेको स्रोतले जनाएको छ ।
जनस्वास्थ कर्मचारीहरुले कमिसनको भरमा यसरी कारबाहीमा परेको तथा बढीमा कोटेसन भरेको शाह मेडिकललाई टेन्डर दिएर ठूलै आर्थिक चलखेल गरेको दाबी कार्यालयकै स्रोतले गरेको छ । कार्यालयमा शाह मेडिकलले कात्तिक २१ गते विभिन्न औषधि सप्लाई गरेबापत २ लाख ६९ हजार र मंसिर २० गते ७ लाख ६० हजार रुपैयाँको बिल पेस गरेको छ ।
जिल्ला जनस्वास्थ्य प्रमुख इन्द्रदेवप्रसाद यादवले भने अनियमितता भएको आरोप अस्वीकार गरेका छन् । यस्तो हुन गएको देखिएर त्यसलाई सच्याइएको उनले बताए । आफू बिदामा भएको बखत टेन्डर खोलिएको बताउँदै उनले जिल्ला प्रशासनमा विधिपूर्वक टेन्डर खोलिएको दाबी गरे । आफू पछाडि केही मान्छे लागेर बदनाम गराउन खोजिरहेको भन्दै उनले अब आफू पर्साबाट सरुवा गराएर जाने बताए ।
