01:29 am - Friday 18 May 2012
Today's epaper

प्रदूषण नियन्त्रणको माग गर्दै आन्दोलनमा

By karobardaily - Thu Feb 09, 12:26 pm

    बर्दिवास, २५ माघ (रासस)ः महोत्तरी जिल्लाको उत्तरवर्ती क्षेत्रका बासिन्दा उद्योगबाट हुने प्रदूषण नियन्त्रणको माग गर्दै आन्दोलित भएका छन् ।

जिल्लाको रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले आफूले बढाएको प्रदूषण नियन्त्रणमा कुनै चासो नदेखाएको भन्दै जिल्लाका रामनगर, हात्तीलेट र बेलगाछी गाविसका बासिन्दा आन्दोलित भएका हुन् ।

इन्डस्ट्रिजले उडाउने विषाक्त धुवाँ, खरानीको धुलो र सडकमा उखु ओसार्ने सवारीसाधनले उडाउने धुलाको उचित व्यवस्थापन नगर्दा आफूहरूलाई मर्का परेको भन्दै इन्डस्ट्रिज नजिक रहेका तीनै गाविसका बासिन्दा आन्दोलनमा उत्रेका छन् ।

इन्डस्ट्रिजले प्रदूषणको उचित व्यवस्थापन नगर्दा आफ्नो बस्तीमा श्वासप्रश्वासका बिरामीको सङ्ख्या ह्वात्तै बढेको र धुवाँ तथा धुलाले बस्ती नै कुइरीमण्डल बनाउने गरेकाले बाध्य भई आन्दोलनमा उत्रनुपरेको रामनगर–५ का चन्देश्वर महतोले बताए ।

मङ्गलबार बर्दिवास–गौशाला सडक अवरुद्ध गरेर इन्डस्ट्रिज अगाडि प्रदर्शन गरेका तीनै गाउँका बासिन्दाले आज पनि आफ्नो आन्दोलनलाई निरन्तरता दिएका छन् ।

इन्डस्ट्रिजले सडकमा ग्राभेल ओछ्याएर धुलो उड्ने क्रम कम गर्न तथा उद्योगबाट निस्कने धुवाँ र खरानीको धुलो व्यवस्थापन गर्न तत्काल चासो नदेखाइए कडा आन्दोलनका कार्यक्रम सञ्चालन गरिने तीनै गाविसका बासिन्दाले चेतावनी दिएका छन् ।

निमित्त प्रमुख जिल्ला अधिकारी नागेन्द्रप्रसाद चौधरीले उद्योग र गाउँलेबीच समन्वय र सहमतिको प्रयत्न भइरहेको जानकारी दिए ।

Leave a Reply