01:29 am - Friday 18 May 2012
Today's epaper

पुराना भवनको पनि भूकम्पीय जोखिम परीक्षण हुने

By karobardaily - Thu Feb 09, 12:30 pm

कारोबार संवाददाता
काठमाडौं, १८ माघ
तपाईं पुराना घरमा बस्नुहुन्छ र भूकम्पको डर लाग्छ भने अब ढुक्क हुनुहोस् । नेपालमा नयाँ नयाँ काम गर्दै आएको फस्र्ट काठमाडौंले अब पुराना भवनको पनि भूकम्पीय जोखिम परीक्षण गर्ने भएको छ ।
सहरी विकास तथा भवन विभागका अनुसार उपत्यकामा मात्र अनुमानित १० लाख घर छन्, जसमध्ये ९० प्रतिशत घर भूकम्पीय जोखिममा छन् । यस तथ्यांकलाई आधार मान्ने हो भने पनि उपत्यकामा मात्र ९ लाखभन्दा धेरै घर भूकम्पीय जोखिममा छन् ।
फस्र्ट काठमाडौं नेपालले रेक्टो फिटिङबाट पुराना भवनको परीक्षण गर्ने काम सुरु गरेको फस्र्ट काठमाडौं प्रालिका प्रबन्ध निर्देशक राजन कर्माचार्यले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा पुराना घरको परीक्षण हुनेछ । आफू बसेको घर भूकम्पबाट कतिको जोखिमपूर्ण छ भन्ने विषयमा जान्न सबैमा कौतुहलता हुने बताउँदै कर्माचार्यले भने, “यसका लागि संरचनासम्बन्धी विज्ञ इन्जिनियरहरूबाट घरको जाँच परीक्षण गराई भूकम्पीय सुदृढीकरणका लागि उचित राय सुझाव लिनु जरुरी हुन्छ । ” बनिसकेको भवनको भूकम्पीय दृष्टिकोणबाट जोखिम जाँच परीक्षण गर्ने कार्यलाई संरचनात्मक जोखिम परीक्षण कार्य भनिन्छ ।
उनका अनुसार केही संस्थागत भवन र सरकारी भवनमा अनुगमन सुरु भए पनि व्यक्तिगत भवनको हालसम्म जोखिम परीक्षण हुन सकेको छैन । “कतिपयलाई त पुराना भवनलाई भूकम्पीय जोखिम परीक्षण र पुनर्संरचना गर्न सकिने विषयमा नै थाहा छैन,” उनले भने ।
नेपालमा पुराना भवनको परीक्षण गर्ने काम सरकारी निकायका तर्फबाट सहरी विकास तथा भवन निर्माण विभागले गत वर्षदेखि मात्र सुरु गरेको भए पनि निजी क्षेत्रबाट रेक्टो फिटिङको काम सुरु गर्नु सराहनीय काम भएको सहरी विकास तथा भवन निर्माण विभागका भवन मर्मत तथा मूल्यांकन शाखाका प्रकीर्ण तुलाधर बताउँछन् । तुलाधरका अनुसार भवन विभागले गर्ने अनुगमन सरकारी भवनमात्र भएकोले प्राइभेट कम्पनी आउनु सकारात्मक काम हो । गत वर्षदेखि भवन विभागले यूएनडीपीको सहयोगमा काठमाडौं, जनकपुर, रुपन्देही र मोरङमा रेक्टो फिटिङको सुरु गरेको पनि तुलाधरले जानकारी दिए । भवन विभागको त्रिवर्षीय योजनामा १२ वटा पुराना भवनलाई भूकम्प प्रतिरोध बनाउन प्रवलीकरण गर्ने कार्यक्रममा उल्लेख छ । हाल नेपालमा रेक्टो फिटिङको काम गैरसरकारी संस्था एन सेट र केही इन्जिनियरहरूले सल्लाहकारका रुपमा मात्र काम गर्दै आएका छन् ।
“काठमाडौं उपत्यकामा निर्मित ९० प्रतिशत भवन इन्जिनियरको डिजाइनअनुसार नबनाइएका कारण नयाँ भवनसमेत भूकम्प प्रतिरोधात्मक छैनन्,” तुलाधरले भने । अधिकांश भवन स–साना भूकम्पबाट समेत सुरक्षित नरहेको अवस्थामा असुरक्षित भवनको पहिचान गर्ने काम नै ठूलो चुनौती भएको ओभरसियर रामचन्द्र कर्माचार्य बताउँछन् ।
पुराना भवनको जोखिम परीक्षणको मूल उद्देश्य सानादेखि ठूला भूकम्पीयले भवनमा कस्ता खालका संरचनात्मक क्षति पुग्छ, भवनले भूकम्पीय भारहरूलाई थेग्न सक्छ कि सक्दैन र क्षति न्यूनीकरणको लागि सुदृढीकरणका उपायहरूमा जान सम्भव छ छैन अध्ययन तथा विश्लेषण गर्नु रहेको स्थानीय विकास मन्त्रालयका स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका नियम महर्जन बताउँछन् ।  उनका अनुसार यस अध्ययनपछिको दोस्रो चरणमा सुदृढीकरणमा जान सम्भव भएमा विस्तृत इन्जिनियरिङ डिजाइन गरिन्छ र तेस्रो चरणमा भूकम्पीय सुदृढीकरण निमार्ण कार्य गरिन्छ ।

Leave a Reply