01:28 am - Friday 18 May 2012
Today's epaper

आत्मनिर्भर बन्दै निजामती अस्पताल

By karobardaily - Thu Feb 09, 12:31 pm

 अस्पतालमा बिरामीको चाप बढ्दो
सञ्जय पन्थी
काठमाडौं, २५ माघ
राजधानीमा तीन वर्षअघि सरकारी स्वामित्वमा सञ्चालनमा आएको निजामती अस्पताल बिरामीको चापसँगै आत्मनिर्भर बन्न सफल भएको छ । अस्पताल प्रशासनका अनुसार तीन वर्षकै अवधिमा कुशल प्रशासन र नेतृत्वका कारण अस्पताल आत्मनिर्भर बन्न सफल भएको हो ।
अघिल्लो वर्षसम्म बिरामीको चाप नगन्य हुने गरे पनि चालू वर्षमा उल्लेख्य वृद्धि भएको अस्पतालको तथ्यांकले देखाएको छ । अत्याधुनिक उपकरण, दक्ष चिकित्सक र प्राविधिक सुविधाका कारण अस्पतालमा बिरामीको चाप बढेको अस्पतालले जनाएको छ । चीन सरकारको प्राविधिक सहयोगमा निर्मित अस्पताल संरक्षक तथा सञ्चालक सामान्य प्रशासन मन्त्रालय रहेको छ ।
अस्पतालको तथ्यांकअनुसार गत वर्ष सेवा लिन आएका बिरामीको संख्या ८० हजार रहेकोमा यस वर्ष चार महिनाको अवधिमा ७१ हजार बिरामीले सेवा पाएका छन् । अस्पताल निजामती कर्मचारीको सुविधाका लागि छुटसहित सञ्चालनमा ल्याइएको भनिए पनि पनि सर्वसाधारणले पनि उपचार सेवा पाइरहेका छन् ।
चालू वर्षमा सेवा लिन आएकामध्ये अस्पतालको सेवा लिने पूर्व र बहालवाला निजामती कर्मचारी तथा परिवारको संख्या २३ हजार ३ सय १६ छ । सर्वसाधारणतर्फ ४८ हजार ३ सय ५४ जनाले सेवा लिएको अस्पताल प्रशासक राजु कुँवरले जानकारी दिए । कुवरले कर्मचारी परिवारलाई ४० देखि ५० प्रतिशत सहुलियत रहेको जानकारी गराउँदै सर्वसाधरणका लागि पनि सेवा महँगो नरहेको जिकिर गरे । चालू आवको चार महिनामा निजामती कर्मचारी तथा तिनको परिवारलाई ४३ लाख रुपैयाँ छुट दिएर पनि अस्पतालले ३ करोड १० लाख आम्दानी गर्न सफल भएको छ । अस्पतालमा १ सय ३२ शय्या क्षमता रहे पनि हाल ५० शय्यामात्र सञ्चालनमा छ । आगामी वर्ष कुल शय्याबाट अस्पतालले सेवा विस्तार गर्नै योजना बनाएको छ ।
अस्पतालमा करार ज्यालादारी र सेवाकालीन सेवाका गरी करिब ३ सय जनशक्ति रहेका भए पनि अस्पताल सञ्चालनको मुख्य जिम्मेवारी सामान्य प्रशासन मन्त्रालयको रहेको उनले स्पष्ट पारे ।
अस्पतालका निर्देशक डा. विमल थापाले १० वर्षे कार्ययोजना बनाएर योजनाबद्ध ढंगले अस्पतालको बिकासमा जुटेको बताए । डा. थापाले सेवा र सुविधा हिसाबले सस्तो भईकन पनि गुणस्तरिय सेवा दिन आफ्नो नेतृत्व प्रतिबद्ध रहको जानकारी गराए । उनले भने, “तुलनात्मक रुपमा राजधानीका अन्य अस्पतालमा भन्दा सस्तोमा सेवा उपलब्ध गराएका छौंं ।” अत्याधुनिक उपकरण सिटी स्क्यान, एक्सरे र ल्याब सेवा अस्पतालमा उपलब्ध छ । १० वर्षे योजनामा पहिलो चरण सफलता साथ पूरा गर्दासम्म अस्पताल आत्मनिर्भर बन्न सफल भएको डा. थापाले बताए । तीन वर्षे दोस्रो योजना कालमा अस्पतालमा आईसीयू, सीसीयू र एमआरआईसहितको सेवा दिने तयारीमा अस्पतालमा जुटेको छ ।
सरकारी स्वामित्वको अस्पताल भएकोले एक वर्षमा ६ वटा स्वास्थ्यमन्त्रीको आदेश आएको गुनासो गर्दै नयाँ–नयाँ मन्त्रीको अनावश्यक दबाब खेप्नुपरेको थापाले बताए । उनले भने, “अस्पताल सञ्चालनमा दलीय आस्थामा विभाजन नभई जिम्मेवारी पूरा गर्न प्रतिबद्ध छु ।”
अस्पताललाई अन्तर्राष्ट्रिय मापदण्ड र सेवा सुबिधा उपलब्ध गराउने महत्वकांक्षी कार्ययोजना उनले प्रस्तुत गरे । निर्देशक डा. थापाले विशेषज्ञ सेवालाई ध्यान दिएर केही चिकित्सकलाई अध्ययनको सुविधासमेत अस्पतालले मिलाएको बताए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको समवन्यमा ‘पोस्ट ग्रेजुएट’ तहको अध्ययन सञ्चालन गर्ने तयारीमा जुटेको उनले जनाए । अस्पताल सञ्चालनमा नीतिगत समस्या रहे पनि छिट्टै अन्त्य हुने आशा डा. थापाले व्यक्त गरे ।

Leave a Reply