अपाङ्गता भएकाहरूको आन्दोलन
By karobardaily - Thu Feb 09, 12:28 pm
- 0 Comments
- 76 views
- Tweet
Email
Print
दाङ (तुलसीपुर), २५ माघ (रासस)ः गैरअपाङ्गलाई अपाङ्ग परिचयपत्र वितरण गरेको भन्दै यहाँ अपाङ्गता भएकाहरू आन्दोलनमा उत्रिएका छन् ।
अपाङ्गता सङ्घर्ष समिति गठन गरी उनीहरू चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।
यसैबीच आन्दोलनमा उत्रिएका अपाङ्गता भएकाहरूले तुलसीपुरस्थित बिपी चोक नजिक बुधबार दुई घन्टा धर्ना समेत दिएका छन् ।
सरकारद्वारा जिल्लामा प्रदान गरिएको अपाङ्ग परिचयपत्र छानबिन हुनुपर्ने, जिल्लाको अपाङ्ग सरोकार मञ्चमा भएको अनियमितता छानबिन हुनुपर्ने, दोषीलाई कारबाही र सुसूचित गरिनुपर्नेलगायतका माग राख्दै आन्दोलनमा उत्रिएको सङ्घर्ष समितिका संयोजक बञ्चुराम परियारले जानकारी दिए । आफ्ना मागका बारेमा यसअघि प्रमुख जिल्ला अधिकारीलाई पनि जानकारी गराइसकेको र आफूहरू अहिले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको परियारले बताए । यसअघि मङ्गलबार घोराहीमा पनि उनीहरूले दुई घन्टा धर्ना दिएका थिए । अपाङ्ग सरोकार मञ्च दाङको तथ्याङ्कअनुसार जिल्लामा हाल छ हजार अपाङ्गता भएकाहरू रहेको जनाइएको छ ।
