पहिलो महिनामै पर्यटक न्यून
By karobardaily - Sun Feb 05, 12:20 pm
- 0 Comments
- 122 views
- Tweet
Email
Print
लुम्बिनी भ्रमण वर्ष–२०१२

मनोरञ्जन शर्मा
भैरहवा, २१ माघ
लुम्बिनी भ्रमण वर्ष सुरु भएको पहिलो महिनामै विदेशी पर्यटक संख्या घटेका छन् । लुम्बिनी विकास कोषले सार्वजनिक गरेको तथ्यांकअनुसार भ्रमण वर्ष २०१२, जनवरीमा २०११, जनवरीभन्दा कम विदेशी पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । कोषका सूचना अधिकृत हरि राईका अनुसार २०१२ को जनवरीमा ६ हजार ५ सय ९१ विदेशी पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए । यो संख्या गत वर्षको जनवरीको भन्दा १ हजार २२ ले कम हो ।
गत जनवरीको तुलनामा लुम्बिनी भ्रमण वर्षको पहिलो महिना लुम्बिनी आउने पर्यटकहरूमध्ये थाइल्यान्ड, दक्षिण कोरिया, अस्ट्रेलिया, मलेसिया, नेदरल्यान्ड, जापान र बेलायतका पर्यटक घटेका छन् । थाइल्यान्डका पर्यटकहरू गत वर्षको तुलनामा ४२ प्रतिशत घटेका छन् । सन् २०११ को जनवरीमा २ हजार ७ सय २५ थाई लुम्बिनी आएकामा लुम्बिनी भ्रमण वर्षको पहिलो महिना १ हजार ५ सय ९३ मात्र आएका छन् । गत वर्षको पहिलो महिनाको तुलनामा यो वर्ष कोरियन पर्यटकहरूको आगमन संख्या पनि करिब ३३ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष जनवरीमा १ हजार ५ सय ६८ कोरियन लुम्बिनी आए पनि अहिले जम्मा १ हजार ६८ मात्र लुम्बिनी आएका छन् । गत जनवरीमा अस्ट्रेलियाका १ सय ८८ जना आएकामा अहिले जम्मा ४६ जना आए भने मलेसियन पर्यटकको संख्या १ सय २२ बाट घटेर १९ मा सीमित हुन पुगेको छ । म्यानमार तथा भारतीय पर्यटकको संख्या भने अघिल्लो वर्षको तुलनामा बढेको छ । गत वर्षको जनवरीमा १ हजार ५ म्यानमारबाट पर्यटक आएकामा अहिले त्यो संख्या बढेर १ हजार ८ सय ७० पुगेको छ । भारतीय पर्यटकको संख्यामा ३ सय ६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको जनवरीमा २ हजार ८ सय २७ भारतीय पर्यटक आएकामा लुम्बिनी भ्रमण वर्षको पहिलो महिना ८ हजार ६ सय ७८ भारतीय पर्यटकले लुम्बिनीलाई आपm्नो गन्तव्य बनाए ।
आन्तरिक पर्यटक (नेपाली) हरूको संख्यामा समेत गत वर्षको तुलनामा भ्रमण वर्षको पहिलो महिनामा कमी आएको छ । गत जनवरीमा ४५ हजार ३ सय ७६ नेपालीले लुम्बिनी भ्रमण गरेको भए पनि यो जनवरीमा ४१ हजार १ सय ४६ जना स्वदेशी पर्यटक लुम्बिनी पुगेका छन् ।
गत मंसिरमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले लुम्बिनीमा भ्रमण वर्षको औपचारिक घोषणा गरेका थिए भने जनवरी १४ मा निकै तामझामका साथ लुम्बिनी भ्रमण वर्ष २०१२ को राष्ट्रपति डा. रामवरण यादवले शुभारम्भ गरेका थिए । लुम्बिनी भ्रमण वर्ष २०१२ को प्रचार–प्रसार स्वदेश र विदेशमा राम्रोसँग नहँुदा भ्रमण वर्षको पहिलो महिनामै गत वर्षको तुलनामा विदेशी पर्यटक घटेको स्थानीय सरोकारवालाहरू बताउँछन् । स्थानीय पर्यटन व्यवसायीहरूले लुम्बिनीमा अनावश्यक कार्यक्रम आयोजना गरी पैसा खर्चिनुभन्दा पनि लुम्बिनीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार गर्न र अधुरो विकास निर्माणका कामलाई तीव्रता दिन माग गरेका छन् ।
