नेप्सेमा ०.८१ को सुधार
By karobardaily - Thu Feb 02, 12:28 pm
- 0 Comments
- 82 views
- Tweet
Email
Print
कारोबार संवाददाता
काठमाडौं, १८ माघ
सेयर बजारमा करिब दुई सातापछि सामान्य अंकको सुधार आएको छ । बुधबार बैंकिङ तथा अन्य समूहमा सुधार आएपछि सेयर मूल्यका आधारमा निर्धारण हुने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.८१ अंकले बढेको हो ।
अघिल्लो बिहीबार ०.६१ अंकले बढेको नेप्से परिसूचकमा बुधबार मात्र सुधार आएको हो । एक्सचेन्जमा कारोबार भएका अधिकांश ‘क’ वर्गका कम्पनीको सेयर मूल्य बढेपछि सेन्सेटिभ इन्डेक्स पनि ०.२२ अंकले बढेको छ ।
बुधबार एभरेस्ट बैंक, बैंक अफ काठमाण्डू, ग्लोबल बैंकलगायतका केही वाणिज्य बैंकको सेयर मूल्य बढेपछि बैंकिङ समूह ०.०६ अंकले बढेको हो । सेयर बजारमा बैंकिङ समूहको ५१ प्रतिशत हिस्सा रहेको छ । नेपाल दूरसञ्चार कम्पनी (टेलिक) को सेयर मूल्य बढेपछि अन्य समूह ३.५२ अंकले बढेको हो । त्यसैगरी होटल २३.०६, विकास बैंक ०.४ र बिमा समूह ०.०३ अंकले बढेका छन् । बुधबार वित्त ०.३२ र जलविद्युत् समूह १.४७ अंकले घटेका छन् ।
नेप्से परिसूचकमा सुधार आएको भए पनि कारोबारमा सुधार आउन सकेन । बुधबार ९० कम्पनीको १ हजार ३ सय ६० कारोबारबाट १ करोड ७५ लाख ८२ हजार रुपैयाँबराबरको ८५ हजार ६ सय ८५ कित्ता सेयर किनबेच भएको छ ।
बुधबार बैंक अफ काठमाण्डूको धेरै रकम कारोबार भएको छ । धेरै कित्ता सेयर किनबेच हुने कम्पनीमा पाटन फाइनान्स रहेको छ । इम्पेरियल फाइनान्स कम्पनीको धेरै पटक सेयर किनबेच भएको छ ।
