स्थानीय स्वायत्त शासन ऐनको पालना भएन
By karobardaily - Fri Jan 27, 12:34 pm
- 0 Comments
- 142 views
- Tweet
Email
Print
अध्ययनबिनाको निकासीले ५ सय परिवार जोखिममा
निकासीलाई बन्द गर्न माग गरे पनि सरोकारवाला निकायले ध्यान नदिएपछि, आसपासको बस्ती नै जोखिममा छ ः स्थानीय
वातावरणीय प्रभाव अध्ययनको काम थालनी भएको छ, प्रतिवेदन आएपछि सोहीअनुसार काम हुन्छ ः हीरालाल रेग्मी, स्थानीय विकास अधिकारी
कुलबहादुर खड्का
सुर्खेत, १२ माघ
वातावरणीय प्रभाव अध्ययन नगरेरै गरिएको ढुंगा र गिट्टी निकासीका कारण वीरेन्द्रनगर नगरपलिका ११ र इत्राम–८ का करिब ५ सय घरपरिवार जोखिममा परेका छन् । जिल्ला विकास समिति सुर्खेतले प्रभाव अध्ययन नगरेरै गरिएको निकासीले बस्ती जोखिममा परेको हो ।
स्थानीय स्वायत्त शाशन ऐन, २०५६ अनुसार प्राकृतिक स्रोतको प्रयोग गर्नुपूर्व वातावरण प्रभाव अध्ययन गर्नुपर्ने हुन्छ । तर, जिल्ला विकास समितिले आफ्नो जिम्मेवारी पूरा गरेको छैन । जिविस सुर्खेतले इत्रामखोला, लाटीकोइलीको झुप्राखोला, हरिहरपुरको रानीघाटक्षेत्र, खोर्के खोलालगायतका स्थानबाट प्रभाव अध्ययन नगरीकनै वर्षौंदेखि ढुंगा तथा बालुवा निकासी गरिरहेको छ ।
स्थानीयवासीले पटक–पटक निकासी रोक्न माग गरे पनि कसैले चासो नदिँदा बस्ती नै जोखिममा परेको बताए । वीरेन्द्रनगर–११ चनौटेका बालकृष्ण पौडेलले इत्रामखोलाबाट दिनदिनै ढुंगा निकासी हुँदा बस्ती उठ्ने तयारीमा रहेको बताए । “खोलाबाट दैनिक सयभन्दा बढी ट्याक्टर ढुंगा, गिट्टी निकासी भइरहेको छ,” उनले भने, “खोला गहिरो भएकाले बस्ती उठ्ने तयारीमा छ ।” निकासी बन्द गर्न जिविसमा पटक–पटक मागपत्र पेस गर्दा पनि सुनुवाई नभएको उनले बताए । उनले वर्षाको समयमा इत्रामबस्ती नै निदाउन नसक्ने गुनासो पोखे ।
अहिले यस क्षेत्रबाट दैनिक १ सय २० ट्याक्टर गिट्टी र ढुंगा निकासी गर्दै आएका छन् । “भूक्षयको जोखिममा बस्ती छ,” जर्वुटा–३ करैखोलाकी पवित्रा गुर्तालले भनिन् ।
इत्राम–८ का गोपीलाल सुनारले विगतमा भएका जग्गा खोलाले बगाउँदै गएको बताए । “अहिले त घरगोठ बग्ने स्थितिमा छ,” उनले भने ।
स्थानीय विकास अधिकारी हीरालाल रेग्मीले यस आर्थिक वर्षमा वातावरणीय प्रभाव मूल्यांकनको काम थालनी भएको बताए । “अध्ययन गरेर निकासी गर्नुपर्ने भए पनि पहिले त्यसो भएको रहेनछ,” उनले भने । वातावरण प्रभाव अध्ययनबिना नै निकासी गरेकोले बस्ती जोखिममा परेको भने उनले स्वीकारे ।
