10:44 am - Thursday 23 February 2012
Today's epaper

यही अवस्थामा निर्माण हुन एक दशक

By karobardaily - Tue Jan 24, 1:14 pm

  मेलम्ची खानेपानी आयोजना

डेढ वर्ष बाँकी हुँदा साढे ३ किमि सुरुङ

बाबुराम खड्का/विजय देवकोटा
काठमाडौं, ९ माघ
सरकारको उच्च प्राथमिकतामा रहेको मेलम्ची खानेपानी आयोजना निर्धारित समय सकिन डेढ वर्षमात्र बाँकी हुँदा जम्मा १३ प्रतिशतमात्र सुरुङ खन्ने काम सकिएको छ ।
२६.५ किलोमिटर लामो सुरुङमध्ये हालसम्म ठेकेदार चाइना रेल्वे १५ ब्युरो कर्पोरेसनले ३.५ किलोमिटरमात्र खनेको छ । कामको यो गति हेर्दा आयोजना निर्माण हुन अझै एक दशक लाग्छ । जबकि, सरकारले सन् २०१३ सम्म मेलम्चीको पानी राजधानी पु¥याउने योजना बनाएको छ ।
सुरुङ खन्ने काममा प्रगति नभएपछि आयोजनाको १३ प्रतिशत रकममात्र खर्च भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कृष्णप्रसाद आचार्यले बताए । समय थपिने भएपछि आयोजनाको लागत पनि स्वतः बढ्नेछ । सुरुङ खन्ने लागतमात्र ४ अर्ब रुपैयाँ छ । चालू आवको बजेटमा सरकारले आयोजनको सुरुङ ९ किलोमिटर खन्ने लक्ष्य लिएको छ ।
सन् २०१३ सेप्टेम्बरसम्ममा सक्ने गरी ठेकेदार चाइना रेल्वेले २०६६ साउनदेखि सुरुङ खन्न थालेको हो । उसले काम सुरु भएको ५४ महिनाभित्र सुरुङको काम सक्ने प्रतिबद्धता जनाएको थियो । “तर, काम हेर्दा २०१६ सम्ममा पनि नसक्ने अवस्था आएको छ,” निर्देशक आचार्यले भने, “अहिले डिजेलको अभावलगायतका कारणले पनि निर्माण सुस्त भएको छ ।”
आव ०५८/५९ देखि भौतिक कार्य सुरु भएको यो आयोजनाको सम्पन्न हुने मिति सुरुमा आव ०६४÷६५ तोकिएकोमा संशोधित भई ०६८÷६९ निर्धारण गरिएको थियो ।
ठेक्का सम्झौताअनुसार समयमा निर्माण पूरा नगर्ने कम्पनीबाट क्षतिपूर्ति भराउने प्रावधान भए पनि यहाँ बारम्बार बन्द, हड्ताल, डिजेल अभावजस्ता समस्याले चाइना रेल्वेबाट क्षतिपूर्ति भराउन नसकिने आचार्यको तर्क छ ।
आयोजनाको काममा ढिलाइ हुनुमा स्थानीय सरोकार समाजको अवरोध, ठेकेदारले उपकरण नल्याउनु आदि हुन् । त्यस्तै, परामर्शदाता, आयोजना कार्यान्वयन निर्देशनालय, खानेपानी महशुल निर्धारण आयोगजस्ता संस्थाको पनि भूमिका देखिएको छ ।
ठेकेदार चाइना रेल्वेले सुरुङ खन्न उपकरण नल्याएको र भइरहेका उपकरणको पनि प्रभावकारी परिचालन नगरेको आचार्यको भनाइ छ । काम सुरु भएको दुई वर्ष बितिसक्दा पनि उसले अहिलेसम्म सुरुङ खन्न आवश्यक निर्माण सामग्री आयोजनास्थलमा ल्याएको छैन ।
आयोजनाको संशोधित लागत ३१ करोड ७३ लाख अमेरिकी डलर छ । यसमा एसियाली विकास बैंक (एडीबी)को १३ करोड ७० लाख, जाइकाको १ करोड ८० लाख, जापान बैंक इन्टरनेसनल (जेबिक)को ४ करोड ७५ लाख, तेल निर्यातक राष्ट्रहरूको संगठन (ओपेक)को १ करोड ३७ लाख, एनडीएफको १ करोड ४ लाख र नेपाल सरकारको ९ करोड ६ लाख ४० हजार अमेरिकी डलर लगानी छ । आयोजना निर्माण गर्न नेपाललाई ऋण सहयोग उपलब्ध गराएका दातृनिकायले परामर्शबापत ६ अर्ब रुपैयाँभन्दा बढी रकम उनीहरूकै देशमा लगेका छन् ।
आयोजनाबाट प्रथम चरणमा सिन्धुपाल्चोक मेलम्ची खोलाको रिवर्मामा बाँध बनाई दैनिक १७ करोड लिटर पानी सुन्दरीजलमा निर्माण गरिने प्रशोधन केन्द्रसम्म ल्याउने र प्रशोधनपछि उपत्यकामा वितरण गर्ने लक्ष्य छ । दोस्रो र तेस्रो चरणमा क्रमशः याङ्री र लार्के खोलाबाट १७÷१७ करोड लिटर थप्ने महत्वाकांक्षी लक्ष्य सरकारले लिएको छ ।

Leave a Reply