टोयोटाले अस्ट्रेलियामा रोजगारी कटौती गर्ने
By karobardaily - Tue Jan 24, 12:50 pm
- 0 Comments
- 152 views
- Tweet
Email
Print
एजेन्सी
क्यानवेरा, ९ माघ
टोयोटा मोटर कर्पोरेसनले अस्ट्रेलियाको उत्पादन प्लान्टमा ३ सय ५० को संख्याले रोजगारी कटौती गर्ने भएको छ । उत्पादनमा आएको कमीले रोजगारी कटौती गर्न लागिएको हो । टोयोटामा रोजगारी कटौतीको कदमलाई दुर्लभ मान्ने गरिन्छ ।
टोयोटाका अस्ट्रेलिया अध्यक्ष म्याक्स यासुदाले अस्ट्रेलियन डलरको मजबुतिका कारण रोजगारी कटौती गर्नुपरेको बताएका छन् । विगतका वर्षहरूमा अमेरिकी डलरको विनिमयमा अस्ट्रेलियन डलर ठूलो अनुपातले अधिमूल्यन भएको थियो ।
टोयोटाको अस्ट्रेलिया प्लान्टमा झन्डै ४ हजार ७ सय जना कार्यरत छन् । विगत ४ वर्षको अवधिमा यो प्लान्टबाट हुने उत्पादनमा ३६ प्रतिशतले गिरावट आएको छ । २००७ मा प्लान्टबाट हुने उत्पादन संख्या १ लाख ४९ हजार थियो भने २०१२ मा यो संख्या ९५ हजारमा झर्ने अपेक्षा गरिएको छ ।
“हाम्रो आयतन घटेको विषय यथार्थ हो । हामीले अस्थायी रूपमा बुझेको कुराले स्थायित्व पाएको छ,” यासुदाले वक्तव्यमार्फत भनेका छन् ।
अस्ट्रेलियाका तीन कार निर्माता कम्पनी टोयोटा अस्ट्रेलिया, फोर्ड अस्ट्रेलिया र जनरल मोटर्सको एकाई होल्डेनले २०१० मा २ लाख ४२ हजार ९ सय ४१ सवारी निर्माण गरी ९४ हजार निर्यात पनि गरेको थियो । यो उद्योगमा समग्र गरी ५० हजार मानिस कार्यरत छन् ।
विशाल सरकारी सहयोग र वार्षिक २ अर्ब ५० करोड अस्ट्रेलियन डलरको सवारी समर्थनका बाबजुद उद्योगले उत्पादन क्षेत्रको रोजगारी जोगाउन ठूलै कसरत गर्नुपरेको छ । जापानको अर्को उत्कृष्ट मोटर निर्माता कम्पनी मित्सुबिसीले २००८ मै सबै कार प्लान्ट बन्द गरिसकेको छ ।
अस्ट्रेलियाका उत्पादन मन्त्री किम कारले पछिल्लो समयमा रोजगारी गुम्नुको प्रमुख कारण बलियो अमेरिकी डलर र विश्वव्यापी अनिश्चितता भएको बताएका छन् ।
“अन्ततः व्यापारिक यथार्थमा आधारित भएर व्यावसायिक ढाँचालाई स्थायित्व दिन कम्पनीहरूले कठोर निर्णय लिनुपर्ने देखिन्छ र टोयोटाले पनि यही नीतिअन्तर्गत यो निर्णय लिएको हो,” उनले भनेका छन् ।
