01:13 am - Friday 18 May 2012
Today's epaper

विद्युत् महशुल नबढाउन सर्वोच्चमा रिट

By karobardaily - Fri Jan 06, 11:33 am

कारोबार संवाददाता
काठमाडौं, २१ पुस
विद्युत्् महशुल निर्धारण आयोगले माघको पहिलो सातादेखि महशुल बढाउने अन्तिम तयारी गरिरहेका बेला उपभोक्ता हित संरक्षण मञ्चले यसविरुद्ध बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
मञ्चका ललितपुर सचिव अधिवक्ता किशोरकुमार विष्टलगायत चार कानुन व्यवसायीले अन्तरिम संविधानको धारा ३२ र १०७ बमोजिम प्रतिषेध परमादेश जारी गर्न माग गरेका छन् । मञ्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र आयोगलाई विपक्ष बनाएको छ । रिटमा शुक्रबारदेखि बहस सुरु हुने भएको छ ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले महशुल बढाउन सरकारकाका तर्फबाट आयोगलाई सहमति दिइसकेका छन् । सहमतिपछि महशुल बढाउने गृहकार्यमा जुटेको आयोगको तयारीलाई रिटले अप्ठ्यारोमा पारेको छ ।
वर्षिक ७ अर्ब रुपैयाँ नोक्सानलाई आधार मानेर आयोगले १९ देखि २० प्रतिशतसम्म महशुल बढाउने तयारी गरेको छ । सरकारले प्राधिकरणसँग लिँदै आएको ८ प्रतिशत ब्याजदर घटाएर ५ प्रतिशत कायम गरी १ अर्ब ५० करो र कर्मचारीको सुविधा कटौती गरेर २ अर्ब ५० करोड रुपैयाँ बचत गर्ने तथा बाँकी नपुग ४ अर्ब ५० करोड रुपैयाँ १९ प्रतिशतसम्म महशुल बढाएर प्राधिकरणलाई नाफा–घाटाको बराबर अवस्थामा पु¥याउने तयारी आयोगको छ ।
रिटमा मञ्चले ‘उपभोक्ता संरक्षण ऐन २०५४ को दफा ६ मा विभिन्न उपभोक्ता अधिकार प्रत्याभूत गरिएको, विद्युत् महसुल निर्धारण नियमावली २०५० को नियम ६ को उपनियम १ मा ५ प्रतिशतमा नबढ्ने गरी वर्षमा एकपटकमात्र परिवर्तन गर्न सकिने व्यवस्था रहेको’ जिकिर गरेको छ ।
आयोगले सरोकारवालाहरुसँग विस्तृत छलफल र परामर्श नै नगरी प्राधिकरणले पेस गरेको प्रस्तावका आधारमा आयोगले महसुल वृद्धि गर्न लागेको रिटमा उल्लेख छ ।
प्राधिकरणले आफूभित्रको आन्तरिक व्यवस्थापन सुधार, राजनीतिक हस्तक्षेपबाट मुक्त, विभिन्न व्यक्ति, संस्था र निकायमा रहेको बक्यौता असुल गर्नतर्फ पहल नगर्नु; ३० प्रतिशत चुहावट नघटाउनु र कर्मचारीलाई दिँदै आएको निःशुल्क विद्युत् सुविधा कटौती नगर्नु मुख्य कमजोरी रहेको मञ्चले बताएको छ ।
चालू आवमा सञ्चित नोक्सान बढेर साढे ३४ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण प्राधिकरणको छ । उसको वित्तीय सुधार कार्यक्रम अर्थमन्त्रालयले स्वीकृत गरी अनुमोदनका लागि मन्त्रिपरिषदमा पेस भइसकेको छ ।

Leave a Reply