दूरसञ्चार क्षेत्र अर्बौं नाफामा
By karobardaily - Thu Dec 22, 12:34 pm
- 0 Comments
- 956 views
- Tweet
Email
Print
बढी कर तिर्नेमा पनि अगाडि
सरस्वती ढकाल
काठमाडौं, ६ पुस
टेलिफोन, इन्टरनेटलगायतका सेवा दिने नेपालका दूरसञ्चार कम्पनीको कारोबार र आम्दानीले अरु क्षेत्रलाई उछिनेको छ । नेपालका ६ वटा दूरसञ्चार सेवाप्रदायक कम्पनीले गत वर्षमात्र सरकारलाई तिर्ने करबाहेक करिब ३५ अर्ब रुपैयाँको कारोबार गरेका गरेका छन् । यसमा नाफाको अंश करिब १६ अर्ब रुपैयाँ छ । कारोबार रकम अघिल्लो वर्षको तुलनामा करिब ७ अर्ब रुपैयाँले बढी हो ।
सरकारलाई तिरेको करसमेत जोड्ने हो भने यी कम्पनीको कुुल कारोबार रकम करिब ५० अर्ब रुपैयाँ हुन्छ । उनीहरूले साढे ७ हजारलाई रोजगारी दिएका छन् ।
केही वर्षयता मोबाइल फोन सेवा अत्यधिक विस्तार भएको क्षेत्र हो । देशका सबै जिल्ला र प्रायः सबै गाउँमा टेलिफोन सेवा पुगेको छ । हाल मोबाइल, अन्य साधारण टेलिफोन र सीडीएमएका गरी १ करोड ४२ लाख ग्राहक छन् । यसमा पनि मोबाइलका मात्र ग्राहक १ करोड १७ लाख छन् । मोबाइल सेवाको बढ्दो मागले दूरसञ्चार कम्पनीको नाफा बढेको हो ।
सरकारको स्वामित्व रहेको नेपाल टेलिकम तथा निजी क्षेत्रका एनसेल, युनाइटेड टेलिकम (यूटीएल), नेपाल स्याटेलाइट, एसटीएम र स्मार्ट टेलिकमले नेपालमा टेलिफोन सेवा दिइरहेका छन् । यी कम्पनीले अघिल्लो आव ०६५÷६६ मा २७ अर्ब ७५ करोड रुपैयाँ कारोबार गरेका थिए । एक वर्षकै अवधिमा ७ अर्ब २५ करोड कारोबार बढेको छ । सरकारलाई धेरै राजस्व तिर्ने पाँच ठूला कम्पनीभित्र नेपाल टेलिकम र एनसेल छन् ।
शुल्क घट्दै गए पनि ग्राहक बढेकाले कारोबार उकालो लागेको हो । यो वर्ष कुल कारोबार रकम ४० अर्ब नाध्ने अनुमान कम्पनीहरूको छ । गत वर्ष टेलिकमले २५ अर्ब, एनसेलले ८ अर्ब, यूटीएलले १ अर्ब ५० करोड, एसटीएमले १४ करोड, स्मार्टले ९ करोड र नेपाल स्याटेलाइटले ३ करोडको कारोबार गरेका छन् ।
स्रोतका अनुसार टेलिकमको नाफा १० देखि १२ अर्ब र एनसेलको करिब ६ अर्ब छ । यूटीएल घाटामा सञ्चालन भइरहेको छ । उसले सरकारलाई झन्डै ९० करोड रुपैयाँ राजस्व तिर्नै बाँकी छ । अन्य कम्पनीको नाफा कारोबार रकमको करिब ६० प्रतिशतजति रहेको स्रोतको भनाइ छ ।
“हाम्रो मुख्य आम्दानी भनेको जीएसएम मोबाइल हो, यसका ग्राहक ५४ लाख छन्,” टेलिकम प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले भने, “सर्वसाधारणमा मोबाइल र टेलिफोन आवश्यकतामात्र नभएर प्रवृत्ति नै भएको हुनाले ग्राहक संख्या बढेको हो ।”
टेलिकमका ग्राहक ७० लाखभन्दा बढी छन् । उसले साधारण टेलिफोन, एडीएसएल, सीडीएमए, जीएसएम पोस्टपेड र प्रिपेड, थ्रिजीलगायतका सेवा दिँदै आएको छ । गत वर्ष सरकारलाई राजस्व तिर्ने ठूला करदातामा टेलिकम पहिलो स्थानमा परेको छ ।
बर्सेनि यति ठूलो रकम प्राप्त हुनुमा पोस्टपेड र प्रिपेड मोबाइलमा बढेको आकर्षण भएको निजी क्षेत्रको ठूलो मोबाइल कम्पनी एनसेलले जनाएको छ । “हाम्रो प्राथमिकता गुणस्तरीय सेवा हो, यसै कारण ग्राहक संख्या बढेको हो,” कम्पनीका एक अधिकारीले भने । एनसेल गत वर्षको चौथो ठूलो करदाता हो ।
कम्पनीले सेकेन्ड जेनेरेसन (टुजी), थर्ड जनेरेसन (थ्रिजी), ब्ल्याकबेरी सेवा दिँदै आएको छ । जीएसएम मोबाइलतर्फ सबैभन्दा धेरै ग्राहक संख्या हुनेमा एनसेल पहिलो स्थानमा छ । ‘मेरो मोबाइल’ बाट ‘एनसेल’ बनेपछि उसले बजार र आम्दानी दुवैमा फड्को मारेको हो । अघिल्लो वर्ष उसले भन्डै ६ अर्ब रुपैयाँको कारोबार गरेको थियो । दूरसञ्चार प्राधिकरणको मंसिर मसान्तको प्रतिवदेनअनुसार एनसेलका ग्राहक ६३ लाख ३४ हजार छन् ।
सुरुवातमा लिमिटेड मोबिलिटीबाट सेवा सुरु गरेको यूटीएलले मोबाइल सेवा थालेपछि ग्राहक र आम्दानी बढेका छन् । गत वर्ष कम्पनीले १ अर्ब २२ करोड रुपैयाँ कमाएको छ । करिब ४५ जिल्लामा सेवा पु¥याएको कम्पनीका ग्राहक ६ लाख छन् । उसले साधारण टेलिफोन, मोबाइल र इन्टरनेट सेवा दिइरहेको छ ।
ग्रामीण क्षेत्रमा पहुँच र निश्चित मापदण्ड पूरा गर्नुपर्ने सर्तबमोजिम लाइसेन्स पाएका स्मार्ट, एसटीएम र नेपाल स्याटेलाइटको पनि गत वर्ष आम्दानी बढेको छ । स्मार्टलाई पूर्वाञ्चलबाहेक दूरसञ्चार सेवा नपुगेका क्षेत्रका ३ सय १८ गाविसमा टेलिफोन सेवा विस्तार गर्ने सर्तमा लाइसेन्स दिइएको हो ।
सर्त पूरा भएको भन्दै हालै उसले अन्तर्राष्ट्रिय ‘गेटवे’ माग गरेको छ । गत वर्ष करिब १० करोड रुपैयाँको हाराहारीमा कारोबार भएको कम्पनीका कार्यकारी अधिकृत सुवास बज्राचार्यले बताए ।
नेपाल स्याटेलाइटलाई दूरसञ्चार सेवा नपुगेका मध्यपश्चिमाञ्चलका २ सय ७३ गाविसमा सेवा दिनुपर्ने सर्त छ । यी गाविसमा सेवा पु¥याएपछि बाँकी क्षेत्रमा सेवा विस्तार गर्न पाउने गरी उसलाई लाइसेन्स दिइएको हो । गत आवमा उसले करिब ३ करोड रुपैयाँ कमाएको छ ।
एसटीएम टेलिकम विश्व बैंकको अनुदान सहयोगमा सञ्चालित हो । कम्पनीले गत वर्ष १४ करोड रुपैयाँ कारोबार गरेको छ । पूर्वाञ्चल विकास क्षेत्रका १६ जिल्लाका गविसमा १ हजार ६८ सार्वजनिक टेलिफोन बुथ (पीसीओ) स्थापना गर्नुपर्ने सर्त उसलाई छ ।
