नेप्सेमा बन्दको सामान्य प्रभाव
By karobardaily - Tue Dec 20, 12:08 pm
- 0 Comments
- 171 views
- Tweet
Email
Print
कारोबार संवाददाता
काठमाडौं, ४ पुस
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्रोग्रेसिभ फाइनान्सको संस्थापक सेयरको बल्क कारोबार भएपछि समग्र कारोबारमा सुधार आएको छ । कारोबारमा सुधार आएको भए पनि नेप्से परिसूचक भने सामान्य अंकले घटेको छ ।
सोमबार नेपाली कांग्रेसले आफ्नो कार्यकर्ताको हत्याको कारण देखाई नेपाल बन्दको घोषणा गरेको भए पनि नेप्सेको कारोबारमा त्यसको खासै प्रभाव पर्न सकेन । नेप्सेमा फाइनान्सको २ कारोबारबाट १ करोड ३९ लाख ६३ हजार रुपैयाँबराबरको १ लाख ४२ हजार ४ सय ८० कित्ता सेयर खरिद बिक्री भएको छ । फाइनान्सको संस्थापक सेयरको कारोबारले नेप्सेको कारोबार रकम पनि बढेको छ ।
नेप्सेमा कारोबार भएका ६९ कम्पनीको २ हजार ३ सय ५९ कारोबारबाट ३ करोड ७७ लाख ९७ हजार रुपैयाँबराबरको २ लाख १५ हजार ६ सय ५६ कित्ता सेयर खरिद बिक्री भएको छ । यो कारोबार आइतबारको तुलनामा धेरै हो । आइतबार नेप्सेमा ७१ कम्पनीको २ हजार १ सय ३७ कारोबारबाट २ करोड २८ लाख २५ हजार रुपैयाँबराबरको ७२ हजार ४ सय ४१ कित्ता सेयर खरिद बिक्री भएको थियो ।
सोमबार नेप्सेमा कारोबार भएका अधिकांश समूहगत परिसूचक घटेपछि त्यसको असर नेप्से परिसूचकमा परेको छ । कारोबार सुरु हुँदा ३१३.६८ अंकमा रहेको नेप्से परिसूचक ०.२२ अंकले घटेर कारोबार बन्द हुँदा ३१३.४६ अंकमा झरेको छ । नेप्सेमा कारोबार भएका ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि ०.०४ अंकले घटेको छ ।
नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ ०.१८, विकास बैंक ०.५४, वित्त ०.२७ र अन्य समूह १.३ अंकले घटेपछि नेप्से परिसूचक घटेको हो । सोमबार जलविद्युत् समूहमा ०.३३ अंकको सुधार आएको भए पनि त्यसको प्रभाव नेप्से परिसूचकमा पर्न सकेन ।
