01:10 am - Friday 18 May 2012
Today's epaper

सोलार साइट खरिदमा टेलिकमको अनियमितता

By karobardaily - Sun Dec 11, 12:44 pm


एकथरी टेन्डरबाट अर्कै सामान खरिदको सम्झौता
कारोबार संवाददाता
काठमाडौं, २४ मंसिर
नेपाल टेलिकमले करिब दुई वर्षभित्र १० लाख लाइन आईपी सीडीएमए विस्तारका लागि ७३४ सोलार साइट किन्न गरेको प्रस्तावविपरीत साइट संख्या १५५ मा सीमित गरी बाँकी रकममा अन्य सामान तथा प्रविधि खरिद गर्ने सहमति गरेको छ ।
टेलिकमले २०६७ साउन १२ मा प्रकाशित गरेको एनसीसीएल/०२/२०६७–६८ को बोलपत्रमा स्वीकृत चिनियाँ कम्पनी हुवाई टेक्नोलोजिज कम्पनी लिमिटेडसँग परिमाण संशोधन गरी आवश्यक सोलार साइटको संख्या घटाएको हो । उक्त टेन्डरमा बीओक्यू (बिल अफ क्वान्टिटी) संशोधन गर्न नपाइने भनिए पनि ७३४ आँकलन गरिएको सोलार साइट १५५ वटामा सीमित गरिएको छ ।
टेलिकमले ५७९ वटा सोलार साइट खरिद गर्न आवश्यक पर्ने रकम ईभीडीओ (इभोलुसन डाटा अप्टिमाइज्ड)मा खर्च गर्ने तयारी गरिरहेको छ । हुवाई र टेलिकमका अधिकारीहरूको मिलेमतोमा परिमाण घटाई रकम अन्यत्रै खर्च गर्न लागिएको हो ।
टेलिकमले भने १० लाख सीडीएमए विस्तारका लागि आवश्यक सोलारको अनुमानका आधारमा उक्त संख्या निर्धारण गरिए पनि सर्वेक्षणका क्रममा १५५ स्थानमा मात्रै राख्नुपर्ने देखिएकाले बाँकी रकम ईभीडीओतर्फ स्थानान्तरण गर्नुपरेको दाबी गरेको छ ।
टेलिकमले सोलारको बहानामा हुवाई टेक्नोलोजिजसँग ईभीडीओका लागि सम्झौता गर्दा सार्वजनिक खरिद ऐन पालना नगरेको भन्दै उसकै केही कर्मचारीले व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिसमक्ष उजुरी गरेका छन् ।
सोलार साइट सौर्य ऊर्जाका लागि बीटीएस (बेस ट्रान्सिभर स्टेसन) मा राखिन्छ । सोलार सेटमा ब्याट्रीसहित रेक्टिफायर, एसी, सोलार प्यानल, चार्जिङ युनिट तथा इन्भर्टर युनिट समावेश हुन्छन् । टेलिकमले आईपी सीडीएमए विस्तार गर्न लागिएका कतिपय ठाउँमा बिजुली पुगिसकेकाले अनुमानित ७३४ मध्ये १५५ वटामात्र साइट राख्न लागिएको बताएको छ । आईपी सीडीएमए परियोजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
१० लाख लाइन विस्तार गर्ने २ अर्ब रुपैयाँभन्दा बढीको कार्यक्रममा टेलिकमले ईभीडीओतर्फ स्थानान्तरण गरेको रकममात्रै १ अर्ब ६६ करोड रुपैयाँ छ । सार्वजनिक खरिदको प्रक्रिया लगाएर ठूलो रकम अन्यत्रै स्थानान्तरण गर्ने टेलिकम र हुवाईबीचको सम्झौतामा टेलिकमका तर्फबाट डाइरेक्टर अफ वायरलेस टेक्नोलोजी (डीडब्लूटी) नरनारायण मानन्धर, प्रबन्धक राजेन्द्र नकर्मीलगायतको समूह र हुवाईका सप्लायर (आपूर्तिकर्ता) रोशेन्द्र खड्का तथा रुवेत झाको समूहले हस्ताक्षर गरेका छन् । हुवाईका तर्फबाट व्यावसायिक प्रबन्धक लियान सी चेंग सम्झौतामा सहभागी छन् ।
हुवाईले टेलिकमले भनेबमोजिम ओटीएपीए (ओभर त एयर प्यारामिटर एड्मिनिस्ट्रेसन) र ओटीएएसपी (ओभर द एयर सर्भिस प्रोभिजनिङ) फङ्सन कबोल नगरेको स्रोतको दाबी छ । त्यस्तै, बोलपत्रमा २ जीपीबीएस (गिगाबाइट प्रतिसेकेन्ड) अपलिंक र ४ जीपीबीएस डाउनलिंक आपूर्ति गर्ने भनिए पनि हुवाईले सम्झौतापत्रमा १.२ जीपीबीएस मात्र उल्लेख गरेको छ ।
“टेलिकमले आफ्नो बोलपत्रअनुसार नभएर हुवाईले जे–जे दिन्छ, त्यही लिन मञ्जुरी गरेर बीओक्यू संशोधन गरेको देखिन्छ,” स्रोत भन्छ, “७३४ सोलार साइटको आवश्यकता यकिन गरी बोलपत्र आह्वान गरिएकोमा १५५ वटाका लागि सम्झौता हुनुले अनियममितता प्रष्ट देखिन्छ ।”
सार्वजनिक खरिद ऐन, २०६३ को दफा २३ बमोजिम बोलपत्रका सर्त र प्रचलित कानुनविपरीत बोलपत्र स्वीकृत भएको छ । टेलिकम र हुवाईबीच २०६८ साउन १८ मा सम्झौता भएको हो ।

Leave a Reply