01:07 am - Friday 18 May 2012
Today's epaper

निजगढ विमानस्थल निर्माणमा अन्योल

By karobardaily - Wed Dec 07, 1:09 pm

कारोबार संवाददाता
काठमाडौं, २० मंसिर

बाराको निजगढमा बनाउने भनिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य फेरि अन्योलमा परेको छ । व्यवस्थापिका–संसद्को राय तथा मन्त्रिपरिषद्को निर्णय आवश्यक पर्ने भए पनि यी संस्थाले यसबारे चासो नदिँदा विमानस्थल निर्माण अन्योलमा परेको हो ।
विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययनको जिम्मेवारी पाएको कोरियाको ल्यान्डमार्क कम्पनीले यसअघि नै सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । ल्यान्डमार्कले ३६ करोडको लागतमा विमानस्थलको सम्भाव्यता अध्ययन प्रतिवेदन पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएको थियो । सन् २०११ को अन्त्यसम्ममा विमानस्थल निर्माण कार्यको जिम्मेवारी पाए २०१५ सम्ममा पहिलो चरणको उडान अपरेसन गर्ने योजना कम्पनीको छ । “हामीले प्रतिवेदनमै उल्लेख गरेका छौं, यही वर्षभित्र निर्माणको जिम्मेवारी पाए २०१५ भित्र पहिलो कमर्सियल उडान भर्न सक्छौं,” ल्यान्डमार्क कम्पनीका नेपाल प्रतिनिधि विनय रावल भन्छन् ।
तीन महिनाअघि झलनाथ खनाल नेतृत्वको सरकारलाई बुझाएको पूर्ण सम्भाव्यता अध्ययन प्रतिवेदनमा दोस्रो विमानस्थल निर्माणमा सरकारले उच्चस्तरीय कार्यान्वयन समिति गठन गर्नुपर्ने, हवाई तथा नागरिक उड्डयन नीति परिमार्जन गर्नुपर्ने उल्लेख छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र सोसँग निर्माण हुने ‘एयरपोर्ट सिटी’लाई आर्थिक आर्जनको आधार मान्न सरकारलाई कम्पनीले आग्रह गरेको छ । व्यावसायिक प्रयोजनमार्फत आम्दानी गर्न विमानस्थलसँगै एयरपोर्ट सिटी बनाउने योजना छ ।
प्रतिवेदनमा उल्लेख भएअनुसार हालसम्म उच्चस्तरीय कार्यान्वयन समिति गठन हुन सकेको छैन । हवाई तथा नागरिक उड्डयन नीति पनि परिमार्जन गरिएको छैन । पर्यटन मन्त्रालयका अनुसार कम्पनीको प्रतिवेदन प्रक्रियामा मात्र रहेको जनाएको छ ।
विमानस्थलको सम्भाव्यता अध्ययन गर्ने कम्पनीलाई सरकारले निर्माण कार्यमा प्राथमिकता दिने सरकार र कम्पनीबीचको सहमति छ । विमानस्थल निर्माण कार्यको जिम्मेवारी अन्य कम्पनीलाई दिए सम्भाव्यता अध्ययन खर्च सरकारले ल्यान्डमार्कलाई फिर्ता गर्नुपर्ने सहमतिमा उल्लेख छ ।
सरकारले लगानीमैत्री वातावरण नबनाए डुब्नका लागि लगानी नगर्ने ल्यान्डमार्क कम्पनीले प्रतिवेदन हस्तान्तरणका क्रममा जनाएको थियो । पर्यटन–सचिव डा. गणेशराज जोशीले लगानीकर्ताका दृष्टिकोणले आर्थिक पक्ष मुख्य विषय रहे पनि विमानस्थल निर्माणलाई राजनीतिक, सामाजिक, आर्थिक, भौतिकलगायत कोणबाट छलफल गर्नुपर्ने बताए ।

Leave a Reply