माघभित्र टेलिकमका सबै शुल्क रिचार्ज कार्डमार्फत
By karobardaily - Tue Dec 06, 6:44 am

जीएसएम सेवामा नम्बर एक रहन प्रयासरत छौं: प्रबन्ध निर्देशक सिंह
कारोबार संवाददाता
काठमाडौं, १९ मंसिर
नेपाल टेलिकमले आगामी दुई महिनाभित्र ग्लोबल सिस्टम मोबाइल (जीएसएम) पोस्टपेडमा रिचार्ज कार्डबाट रकम थप्न मिल्ने व्यवस्था गर्न लागेको छ । पोस्टपेड मोबाइल, एडीएसएल र साधारण टेलिफोनको बिल रिचार्ज कार्डमार्फत तिर्ने व्यवस्था माघदेखि लागू गर्न हाल उपकरण जडान कार्य पूरा भई परीक्षणमा रहेको कम्पनीले जनाएको छ ।
सोमबार पत्रकार सम्मेलन गरी कम्पनीका प्रबन्ध निर्देशक अमरनाथ सिंहले अब दुई महिनाभित्र ग्राहकले बिल तिर्न कम्पनीसम्म आउनु नपर्ने बताए । चालू आर्थिक वर्षमा १२ लाख ३७ हजार मोबाइल थप्ने लक्ष्य लिएको र कात्तिक मसान्तसम्म ५ लाख मोबाइल वितरण भइसकेको प्रबन्ध निर्देशक सिंहले जानकारी दिए ।
जीएसएम सेवामा विगत केही महिनादेखि टेलिकम दोस्रो स्थानमा परेको भनिए पनि सक्रिय ग्राहक भने बराबर नै रहेको सिंहले दाबी गरे । “जीएसएम सेवामा विगत लामो समयदेखि टेलिकम पहिलो स्थानमै छ । यसलाई सोही स्थानमा राख्न प्रयासरत छौं,” उनले भने ।
कम्पनीले एउटै प्रविधिबाट भ्वाइस, डाटा र भिडियोे सेवा दिन अप्टिकल नेटवर्क युनिट (ओएनयू) र मल्टी सर्भिस एक्सेस नेटवर्क (एमएसएएन) प्रणालीमार्फत ३३ हजार लाइन टेलिफोन वितरण गर्ने लक्ष्य लिएको छ । हालसम्म मुलुकका सबै क्षेत्रलाई समेट्ने गरी ससाना व्यापारिक केन्द्रहरूमा ६४ वटा ओएनयू र एमएसएएन सञ्चालनमा आइसकेको कम्पनीले जनाएको छ ।
कम्पनीले चालू आवको पहिलो तीन महिनाको अवधिमा ८ अर्ब २५ कारोड रुपैयाँ आम्दानी गरेको छ । आव २०६८÷६९ मा कम्पनीले कुल ३१ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएकाले लक्ष्यअनुरूप प्रगति हुने अनुमान गरिएको छ ।
प्रबन्ध निर्देकश सिंहका अनुसार अत्याधुनिक सेवाहरू प्रवाह गर्न सक्ने १ करोड लाइन क्षमताको जीएसएम सेवा खरिद प्रक्रिया बोलपत्र भई हाल मूल्यांकन प्रक्रियामा छ । कम्पनीले उपलब्ध गराउने सबै सेवाहरूको एकीकृत बिलिङ गरी ग्राहकहरूलाई उपलब्ध गराउने उद्देश्यका साथ ‘कन्भरजेन्स रियल टाइम बिलिङ’ उपकरण जडान गर्ने लक्ष्य लिइएकोमा बोलपत्रमार्फत आपूर्तिकर्ता कम्पनीको छनोट भई सम्झौताका लागि अन्तिम तयारी भएको कम्पनीले जनाएको छ ।
कम्पनीले २० लाख आईपी सीडीएमए टेलिफोन विस्तारका लागि उपकरण जडान कार्य पूरा भएको जनाएको छ । यो सेवा लागू भएपछि ग्रामीण क्षेत्रमा समेत ब्रोडब्यान्ड सेवाको पहुँच स्थापित गर्न सहयोग पुग्नेछ ।
प्रिपेड मोबाइलतर्फ कम दरका रिचार्ज कार्डहरूको मागलाई मध्यनजर गरी कम्पनीले कम दरका ‘इलेक्ट्रोनिक पिनलेस रिचार्ज कार्ड’हरू लागू गरिसकेको छ ।



टेलिकमले लक्ष्य अनुसारको काम हुने हो भने अझै पनि एक नम्बर मै छ । तर हामि संख्यात्मक हिसाबले मात्रै पछि परेका हौ सेवा लिने ग्राहक अनुसार अझै एक नम्बरमा छु भन्दै बस्ने र सेवा बिस्तार न गर्ने हो भने दोस्रो नम्बर मै छौ भनेर ढुक्क हुँदा हुन्छ । एनसेलले पछि पारी सक्यो अब अरुले पनि जित्न थाले भने हामी सरकारी कम्पनी हो भन्दैमा कोहि सेवा प्रयोग गर्न आउदैनन् । समय अनुसार परिवर्तन देखिने गरि सेवामा सुधार गर्नु पर्यो यदि एक नम्बर मै रहि रहने हो भने । मोबाइल सेवा र एडिएसएल मा तुरुन्त सुधार गरिनु पर्छ ।