प्रधानमन्त्रीका आर्थिक सल्लाहकार १६ जना
By karobardaily - Tue Dec 06, 8:15 am
कमला थापा
काठमाडौं, १९ मंसिर
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले व्यावसायिक क्षेत्रका १६ जना विज्ञ सम्मिलित आर्थिक सल्लाहकार परिषद् गठन गरेका छन् । पूर्वअर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा रहेको परिषदको पहिलो बैठक गतसाता बसेको छ ।
प्रधानमन्त्रीलाई आर्थिक सल्लाह दिनेगरी गठन भएको यो पहिलो संयन्त्र हो । अमेरिका, भारत, चीन, दक्षिण कोरिया, मलेसियालगायत थुप्रै विकसित मुलुकमा यस्तो परिषद् रहने व्यवस्था छ । परिषद् अमेरिकी ढाँचाअनुसार गठन गरिएको जानकारी खनालले दिए ।
“राज्यलाई योगदान दिने उद्देश्यले हामीले सेवा–सुविधाबिनै काम गर्नेछौं,” उनले भने । अहिले १६ सदस्य रहेको परिषद्मा प्रधानमन्त्रीको इच्छाअनुसार अन्य सदस्य पनि थपिन सक्ने खनालले बताए ।
प्रधानमन्त्री भट्टराईका अनुसार परिषद् राजनीतिक संरचना नभई स्थायी संयन्त्र हो । जुनसुकै सरकार आए पनि यसले आर्थिक विकासका लागि सल्लाहकारको भूमिका निर्वाह गर्नेछ ।
परिषद्ले समावेशी आर्थिक विकास वृद्धिमा देखिएका बाधा र तिनको निकासका लागि गर्नुपर्ने नीतिगत सुधारबारे प्रधानमन्त्रीलाई सुझाव दिनेछ । त्यस्तै, उदीयमान आर्थिक संकटका विषयमा पूर्वानुमान गर्ने वा त्यस्ता संकट समाधानका लागि परिषदले सुझाव दिनेगरी कार्ययोजना तयार गरिएको छ ।
समावेशी आर्थिक वृद्धिका लागि पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि प्रशोधन उद्योग र सेवा क्षेत्रमा निजी क्षेत्रको प्रवद्र्धनका लागि परिषदले सम्भावना पहिल्याई सुझाव दिनेछ । परिषद्को अर्को बैठकमा सबै सदस्यले आफ्नो क्षेत्रका सुझाव पेस गर्ने निर्णय पहिलो बैठकले गरेको खनालले बताए । प्रधानमन्त्रीले चाहेका आर्थिक विषयमा सल्लाह दिने दायित्व पनि परिषद्को रहनेछ ।
अर्थतन्त्रका सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी सदस्य छनोट गरिएको परिषदको बैठक महिनामा एक पटक बस्नेछ । परिषद्मा सभासद् हरि रोका, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य, गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछाने सदस्य छन् । त्यस्तै, नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष बीके मान सिंह, सूचना प्रविधि आयोगका अध्यक्ष डा. मदन परियार, बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, पर्यटन व्यवसायी कर्ण शाक्य, कृषिविज्ञ डा. उमिद पुन, जैविक विविधताका क्षेत्रबाट यमुना घले पनि सदस्य रहेका छन् । बैंक वित्त र इन्स्योरेन्सका क्षेत्रबाट प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रेष्टा झा, उच्च माध्यमिक विद्यालय संगठन (हिसान) अध्यक्ष उमेश श्रेष्ठ, ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधान र योगेश्वरकृष्ण पराजुलीलाई पनि परिषद्मा राखिएको छ । स्वास्थ्य क्षेत्रबाट डा. रामकण्ठ माकाजू र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्राध्यापक रेशम थापा पनि परिषद्का सदस्य छन् ।



This is a very good initiation of the Prime Minister and hope the adviser committee will provide best advice to Prime Minister keeping the economic development of the Nation as the top priority and most importantly Prime Minster will show guts to implement the advice to make Nepal economically prosperous.
Similarly, going through the list of members in the committee it would be good if PM had also incorporated youths from Economics field. Because they will get an opportunity to learn and also their voice would be heard. If it would have done then the initiatives would be the best