01:05 am - Friday 18 May 2012
Today's epaper

दुई महिना सरकार फेर्ने कुरा हुँदैन : महत

By karobardaily - Tue Dec 06, 7:54 am

कारोबार संवाददाता
काठमाडौं, १९ मंसिर
कांग्रेस केन्द्रीय सदस्य डा. रामशरण महतले नेपाली कांग्रेस तत्कालै सरकार  परिवर्तनका पक्षमा नरहेको बताएका छन् ।
महतले शान्ति प्रक्रियामा माओवादी लडाकुको हतियार सरकारको नियन्त्रणमा आएर समायोजन प्रक्रिया सुरु नहुन्जेल कांग्रेस नयाँ सरकारको पक्षमा नरहेको स्पष्ट पारे ।
“अझै १/२ महिना कांग्रेसले सरकार परिवर्तनको कुरा गर्दैन,” उनले भने, “सहमतिको सरकार निर्माण गर्न अझै केही समय लाग्छ ।”
राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रमुख दलका शीर्ष नेताहरूलाई जिम्मेवारी दिएको भोलिपल्टै डा. महतको यस्तो भनाई सार्वजनिक भएको हो ।
रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा डा.महतले समायोजनको प्रक्रिया सुरु भएपछि स्वाभाविक रूपमा सहमतिको सरकारको नेतृत्वमा कांग्रेसले दाबी गर्ने स्पष्ट पारे ।
उनले अहिलेको सरकार र प्रधानमन्त्रीको कारणले शान्ति प्रक्रिया अगाडि बढेको भन्ने दाबीको खण्डन गर्दै सरकारको भन्दा पनि दलीय सहमतिको कारण शान्ति प्रक्रिया अगाडि बढेको ठोकुवा गरे । “शान्ति प्रक्रिया दलहरूको सहमतिमा अगाडि बढेको हो,” उनले भने, “अरू दलले पनि शान्ति प्रक्रियामा उदारता देखाए । माओवादीले पनि लचकता देखायो । त्यसैले शान्ति प्रक्रिया अगाडि बढ्यो । प्रधानमन्त्रीको होइन, दलीय नेतृत्वको भूमिका महत्वपूर्ण छ ।”
उनले वर्तमान सत्ता गठबन्धनलाई अवसरवादी गठबन्धनको संज्ञा दिँदै भ्रष्टाचार र कुशासनको हिसाबमा अहिलेको सरकार उत्कृष्ट नमुना भएको दाबी गरे । “अहिलेको सत्तारूढ गठबन्धन एक अर्काको स्वार्थ पूरा गर्न निर्माण भएको हो,” उनले भने, “मिलीजुली भ्रष्टाचारमा लिप्त छ, त्यसैले यो सरकार हट्नुपर्छ  । त्यसो भए मुलुकका लागि हलुका हुन्छ ।”
नभएका फर्जी लडाकुको नामबाट लिएको १ अर्ब १८ करोड रुपैयाँमाथि विवाद उठाएर कांग्रेस शान्ति प्रक्रिया बिथोल्ने मनस्थितिमा नरहेको स्पष्ट पार्दै उनले जनताको करबाट उठेको पैसाको दुरुपयोग भएकाले यसको लेखाजोखा भने हुनैपर्ने बताए ।
नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले प्रधानमन्त्री डा. भट्टराईको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण हुनै नसक्ने ठोकुवा गर्दै भट्टराईको नेतृत्वमा कांग्रेस सरकारमा गए पनि एमाले सरकारमा नजाने स्पष्ट पारिन् ।
“एमाले बाबुराम भट्टराईको नेतृत्वको सरकारमा जान सक्दैन,” उनले  भनिन्, “कांग्रेस उहाँकै नेतृत्वमा गए एमाले प्रतिपक्षमा बस्छ । यो सरकार सहमतिको सरकार बन्न सक्दैन, यसले विश्वसनीयता गुमाइसक्यो ।”
उनले एमाले सहमतिको सरकारका लागि बाधक नबन्ने र नेतृत्व दाबी पनि नगर्ने बताइन् । उनले मुलुकमा कुशासन र भ्रष्टाचार बढाएर सरकारले विश्वनीयता गुमाएको दाबी गर्दै प्रधानमन्त्री भट्टराईले सहमतिको वातावरण हुँदाहुँदै सहमति छाडेर मधेसी मोर्चासँग गठबन्धन गरेको आरोप पनि लगाइन् ।
कृषि तथा सहकारीमन्त्री नन्दनकुमार दत्तले प्रधानमन्त्री डा. भट्टराईको नेतृत्वमा सहमतिको सरकार नबने मधेसी मोर्चालाई मान्य नहुने चेतावनी दिए । उनले भट्टराईको नेतृत्वमा सहमतिको सरकार गठन हुने भए मधेसी मोर्चा जस्तोसुकै त्याग गर्न पनि तयार रहेको स्पष्ट पारे ।
मन्त्री दत्तले प्रधानमन्त्री भट्टराईको नेतृत्व परिवर्तनको लागि कुनै कारण नभएको दाबी गर्दै यस अवस्थामा नयाँ नेतृत्व आए शान्ति प्रक्रिया अप्ठ्यारोमा पर्ने चेतावनी दिए ।
माओवादी पोलिटब्युरो सदस्य राम कार्कीले प्रधानमन्त्री डा. भट्टराईकै नेतृत्वमा शान्ति प्रक्रिया अगाडि बढेकाले विकल्प खोजिए अप्ठ्यारो अवस्था आउने चेतावनी दिए ।
उनले शान्ति र संविधान निर्माणको यो अवसरमा सबै नेताहरूको परीक्षण भइसकेकाले भट्टराईको विकल्प नभएको दाबी गरे । उनले प्रधानमन्त्री सुशासन कायम गर्न असफल र असल प्रशासक हुन नसके पनि उहाँ मुलुकको प्राथमिकता निर्धारणमा स्पष्ट भएकाले शान्ति प्रक्रिया अगाडि बढेको दाबी गरे ।

1 Comment

Comments -49 - 0 of 1First« PrevNext »Last
  1. -1

    Ram saran Abdul,from Karachi,corrupted person,vision less person,how he become a planing commissioner,what surprise,

Comments -49 - 0 of 1First« PrevNext »Last

Leave a Reply